TagaroNews
अब नेपालमै पाइलटको  तालिम

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ । मन्त्रालयबाट इजाजत पाउनेमा शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालि  रहेका छन् । मन्त्रालयले कार्यविधि संशोधन गरेर यी दुई संस्थालाई इजाजतपत्र दिएको हो । शुभम् एभिएसन पाइलट जनक अधिकारीको संस्था हो भने चन्द्रसूर्यका सञ्चालक मनबहादुर थापा हुन् ।

मन्त्रालयले दुवै संस्थालाई ७ दिनभित्र १ लाख रुपैयाँ इजाजत दस्तुर र ‘क’ वर्गको मान्यता प्राप्त बैंकबाट १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाउन भनेको छ । विज्ञान विषय लिई १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका नेपाली नागरिकले फ्लाइङ स्कुलमा हेलिकोप्टर र जहाजको पाइलट तालिम लिन पाउँछन् । मुलुकभित्रै फ्लाइङ स्कुल नहुँदा नेपालीहरू तालिमका लागि दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जाने गरेका छन् । तालिममा करिब १ करोड रुपैयाँ र एकदेखि डेढ वर्ष समय खर्च हुने गरेको छ ।

१६ वर्षअघि पर्यटन मन्त्रालयले भरतपुर विमानस्थलमा बेस बनाउने गरी सिवानी एयर प्रालिलाई हवाई उडान प्रशिक्षणका लागि इजाजत दिएको थियो । व्यवस्थापकीय समस्याका कारण उक्त कम्पनी बन्द भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रक्रिया पूरा गरेर आवेदन बुझाउने अरू संस्थालाई पनि फ्लाइङ स्कुल सञ्चालनका लागि अनुमति दिइने बताए । यो सँगै अव नेपालमै पाइलट सिक्न चाहनेहरुका लागी निकै सुनौलो अवसर बनेको र यसलाई अझै सहज र सरल बनाउन लागिपर्ने मन्त्रालयको भनाई छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update