TagaroNews
गोरखाका ३३ वडा सचिव बिहिन
गोरखा जिल्लाको पालिकागत नक्सा ।

गोरखा– गोरखा जिल्लाका ३३ वडा कार्यालय सचिव बिहिन रहेका छन् । सचिव नहुँदा अधिकांश वडा त अहेबको भरमा चल्दै आएको छ । 

पञ्जीकरणको कामसमेत गर्नुपर्ने हुँदा स्थायी कर्मचारीलाई मात्र वडा सचिवको कार्यभार जिम्मा दिनुपर्ने सरकारी प्रावधान छ । तर, गोरखा नगरपालिकाको दुइटा वडामा करारमा नियुक्त भएका कर्मचारीले वडा सचिवको काम गरिरहेको नगरपालिका कार्यालयले जनाएको छ । 

कतै कम्प्युटर अपरेटर त कतै, सुपरभाइजरमा करारमा नियुक्त भएकाले वडा सचिवको जिम्मेवारी समालेका छन् । सुगम मानिने पालुङटार नगरपालिकाको १० वटा वडामध्य पाँचवटा वडाहरू वडासचिवबिहिन छन् । 
स्वास्थ्यका कर्मचारीले वडा चलाइरहेको अवस्था छ । सीप, क्षमता, दक्षता र विज्ञता एउटा क्षेत्रमा, काम अर्को क्षेत्रमा गर्नुपर्दा समस्या भएको उनीहरु बताउँछन् । 

सिरानचोक र भीमसेनथापा गाउँपालिकाका पाँच–पाँचवटा वडामा वडासचिव छैनन् । बारपाक सुलीकोट गाउँपालिकामा पनि अवस्था उस्तै छ । 

दुर्गम मानिने चुमनुब्री गाउँपालिकाका सातवटा वडामध्ये ३ वटा वडामा वडा सचिव छैनन् ।  एउटै सचिवले दुइटा वडा र पालिकाअन्तर्गतका विभिन्न शाखाहरू समेत सम्हाल्नु परेको प्रमुख कार्यकारी अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘कर्मचारी अभावले असाध्यै दुख भएको छ’, श्रेष्ठले भने, ‘लोकसेवामा कर्मचारी माग गरेर पठायो, कर्मचारी आउँदैनन् । खरिदार, नासु पदमा नाम निकालेर आएका हुन्छन्। अनि अधिकृतमा पनि नाम निकाल्छन् र गइहाल्छन् ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update