TagaroNews
स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । दूरसञ्चार ऐन अनुसार सरकारलाई बुझाउनु पर्ने ३० अर्ब रुपैयाँ नबुझाएपछि लाइसेन्स खारेज भएको हो । नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ भदौमै लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले उक्त रकम ५ किस्तामा तिर्न भनेर २०८० वैशाख ३ गतेसम्मको समय तोकेको थियो ।

निर्धारित समयसम्म पनि स्मार्टले उक्त रकम नतिरेपछि नियम अनुसार स्वतः लाइसेन्स खारेज भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । सोमबार बस्ने प्राधिकरणको बोर्ड बैठकले लाइसेन्स खारेज भएको निर्णय गर्ने उनले बताए । सम्पत्ती व्यवस्थापन नियमावलीअनुसार स्मार्टले हस्तान्तरण गरेपछि मूल्यांकन गरेर टेन्डरद्वरा लाइसेन्स अर्को कम्पनीलाई बिक्री गरिने खनालले बताए ।

काठमाडौं र पोखरामा फोरजीका साथै अन्य केही स्थानमा टुजीमार्फत करिब २४ लाख ग्राहकहरुलाई सेवा दिइरहेको स्मार्ट टेलिकमको लाइसेन्स खारेजी भएको हो । यसअघि दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update