TagaroNews
समाजसेवी घलेले बनाए पितृको सम्झनामा प्रतिक्षालयसहितको चौतारा
प्रतिक्षालय सहितको चौताराको उदघाट्न गर्दै एमाले उपमहासचिव गुरुङ ।

लमजुङ– लमजुङका समाजसेवी एवं घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले आफ्ना पितृहरुको सम्झनामा चौतारा निर्माण गरेका छन् । क्होलासोँथर गापा– ३, घलेगाउँको दोबाटोमा उनले चौतारा निर्माण गरेका हुन् ।

घलेले १ सय ५० वर्षअघि आफना बाजे जिमु रतनसिंह घलेले निर्माण गरेको चौताराको अहिले पुनःनिर्माण गरेको बताए । जीर्ण बनेको चौतारालाई बाजे सहित आफ्नो बुवा शेरबहादुर घले र दाजु प्रवीणराज घलेको स्मृतिमा करिब ४ लाख रुपैयाँ खर्च गरी प्रतिक्षालयसहित पुन निर्माण गरेको उनले जानकारी दिए ।  

सो प्रतिक्षालय र चौतारा निर्माणमा वडाको पनि सहयोग रहेको छ । नवनिर्मित प्रतिक्षालय र चौताराको गत शुक्रबार नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका थिए । प्रतिक्षालय सहित चौतारा निर्माण भएपछि स्थानीय सहित पर्यटकहरुलाई बस्न, थकाई मार्न र त्यहाँबाट ग्रामिण परिवेश र दृश्यहरु अवलोकनमा सहज भएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update