
लमजुङ – लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुलको उद्घाटन गरिएको छ ।
पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
मोटरेवल पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्ने गरी आगामी बजेटमा योजना समेट्ने बताए ।
उनले भने, ‘लमजुङको दुधपोखरी र गोरखाको अजिरकोट दुर्गम र बिकट क्षेत्र नै हो, यी दुई पालिकालाई विकाससँग जोड्ने अभियान अनुरुप हामी अघि बढेका छौँ । सडकसँगै विद्युत लगाएतका पुर्वाधार पनि सँगै लैजाने योजनामा छौँ ।’
उनले थपे, ‘प्रदेशभरीका आवश्यकताका योजना मिलाउन ५ खर्ब बजेट चाहिने रैछ, बजेट ५ अर्ब आउन गाह्रो छ । आवश्यकता असिमित छन्, तर, बजेट अनुसार सिमित योजना मात्र समेट्न बाध्य भएकाले हामी प्रयासमै छौँ ।’
मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानिय सरकारविच विकास निर्माणका योजनाहरुमा समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना हुनका साथै अलमल हुनेगरेको बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सिमित श्रोत र साधनका बाबजुतपनि प्रदेश सरकारले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
सो पुल निर्माणका लागि ०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पुर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो ।
कुल ४ करोड ३७ लाखको लागतमा ४० मिटर लम्वाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय प्रमुख विवेक सिग्देलले बताए ।
०८१ साल जेठमा पुल निर्माण भएसँगै स्थानीयहरुलाइ आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहज भएको छ ।
कृषि उत्पादनलाई बजारसम्म ढुवानी गर्नपनि सहज हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । दैनिक उपभोग्य सामान ढुवानीका लागी पनि स्थानीयहरुलाई पुलले सहज बनाइदिएको छ ।