
मनाङ – हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सेवा सञ्चालनमा ल्याइएको छ ।
लमजुङ सदरमुकाम बेसिशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सञ्चालन हुने उक्त बस सेवाको आइतबार पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरुङले औपचारिक उद्घाटन गरे ।
बस सेवाको उद्धघाट्न गर्दै गुरुङले सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने बताए । पर्यटकसँगै यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने गुरुङको विश्वास छ ।
बसलाई लमजुङ र मनाङको सिमानामा पर्ने म्याग्दे पुलमा भव्य स्वागत गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । उनका अनुसार स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।
मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ ।
प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताए ।
प्रजिअ आचार्यका अनुसार पहिलो चरण चामे र बेसी सहरबाट एउटा एउटा बस छुट्नेछ । त्यसपछि यात्रुको आवश्यकताका आधारमा बस थप गरिने उल्लेख गरे ।
बेसीशहर देखी चामे ६५ किलोमिटर छ । बस सेवा सञ्चालन सँगै भाडादर समेत कायम गरिएको छ ।