
लमजुङ – लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।
बेसीशहर नगरपालिका–२ स्थित अस्थायी प्रहरी बिट भकुण्डे नजिकै घर भएकी ४७ बर्षीय सीता कडेँलको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
कडेँलको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशङ्का छ । स्थानीयका अनुसार कडेँल घरमा एक्लै बस्दै आएकी थिइन् ।
उनका छोरा बुहारी अष्ट्रेलिया छन् । लामो समयदेखी आमासँग सम्पर्क नभएपछि उनका छोरा अभिनास कडेँलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए ।
खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले आइतबार दिउँसो सवा २ बजेतिर प्रहरीलाई खबर गरे । घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कडेँलको शव फेला परेको हो ।
घरमा ढोकामा ताला लगाइएको अवस्थामा कडेँल मृत अवस्थामा भेटिएकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक कडेँल प्रहरीको पूर्व हवलदार समेत थिइन् ।