TagaroNews
नयाँ बर्ष बेसीशहरमा ‘ब्याक टु नाइन्टिज’, चर्चित ६ ब्यान्ड एकै स्टेजमा गुञ्जिने
फाइल तस्वीर ।

लमजुङ – नयाँ बर्ष २०८२ सालको अवसरमा बेसीशहरमा प्रसिद्ध सांगीतिक समूह ‘ब्याक टु नाइन्टिज’ अर्थात् चर्चित ६ ब्यान्डहरू एकै स्टेजमा गुञ्जिने भएका छन् । 

नब्बेको दशकमा उदाएका ती सफल ब्यान्डहरू डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्यान्ड (श्यामसुङ तामाङ) को प्रस्तुति रहनेछ् । 

बेसीशहर युथ सोसाईटी सेराले रक्तदाता एप्स निर्माणमा आर्थिक सहयोग जुटाउने साथै रक्तदाता उत्प्रेरणा एवं सचेतनाका लागी नयाँ बर्षको अवसरमा सांगीतिक कार्यक्रम (लाईभ कन्सर्ट) आयोजना गरेको हो । क्लवले बुधबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै सांगीतिक कार्यक्रम र उद्धेश्यबारे जानकारी दिएको छ । 

आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड डोनर एप्स’ सञ्चालन गर्ने क्लवको उद्धेश्य रहेको अध्यक्ष रविन श्रेष्ठले बताए । उनले भने, ‘मानव रगत कुनै कारखानामा बन्दैन, रगतको स्रोत मानव नै हो । यस एप्सले प्रयोगकर्तालाई नजिकैको रक्तदाता पहिचानमा मद्धत गर्ने र रगतको अवश्यकतामा तत्काल सजिलै सम्पर्क गर्न मद्धत पुर्याउने हुँदा यो अभियानमा लागेका हौँ ।’

उनले थपे, ‘रक्तदाता एप्सले रक्तदाताको समुदाय बनाउन मद्धत गर्छ, जहाँ आपसमा सम्पर्क र समन्वय हुन्छ र अधिक मात्रामा रक्तदाता संलग्न हुन्छन् । एप्सले रियल टाइम सूचना र अपडेट दिने हुँदा तुरुन्तै सूचित गर्छ र तत्काल रक्तदाता उपलब्ध हुनेछ ।’

क्लवले परिकल्पना गरेको रक्तदाता एप्सले रक्तदानको प्रक्रिया द्रूत, सुरक्षित र प्रभावकारी बनाउने भएकाले समाजलाई सुरक्षित र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताए । 

रगत तथा रक्तदाता अभावको समस्यालाई दिर्घकालिन समाधानको लागि क्लवले यो अभियान अघि बढाएकाले अभियान र कार्यक्रम भव्य र सभ्य बन्ने अपेक्षा गरेको छ । 

मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण टेवा पुग्ने क्लवको विश्वास छ । 

बेसीशहरको फुलबारी मञ्चमा हुने सांगीतिक कार्यक्रम अपराहन्न ४ बजेबाट बेलुका ९ बजेसम्म चल्नेछ । अनुमानित तीन हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले कार्यक्रम सम्पन्न गर्न १६ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । 

कार्यक्रममा त्रिवेणी युवा क्लव, मर्स्याङ्दी यूवा क्लव, आदर्श क्लव सहजी, लिटर स्टार क्लव र लाङ्दी देवीको समेत सहकार्य रहेको आयोजकले जनाएको छ । 

फाइल तस्वीर ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update