TagaroNews
मानवसेवामा जिउँदो भगवानको अनुभव 

मानव जीवन एउटा उत्कृष्ट अनुभव हो । यस अनुभव शब्दमा नै आनन्द लुकेको हुन्छ । जस्तै मानिस जन्मन्छ र मर्छ । जन्मदेखि मृत्युसम्म नै मानिसले सबै कुराको अनुभव गर्दै आएको हुन्छ । जस्तै उदाहरणको लागि एउटा बच्चा जन्मिन्छ । उसले आफ्नो बाल्यकाल, किशोर अवस्था, आफू बुबाआमा भएको अवस्था, वृद्ध भएको अवस्थाको अनुभव गरेको हुन्छ । सबै प्राणीको आफनै भोगाइ र अनुभव हुन्छ । कसैको भोगाइ र अनुभव दुःखको त, कसैको सुखको । धेरैजसो मानिसहरूको भोगाई दुःखबाट सुरु भएर  सुखमा अन्त्य हुन्छ ।  दुःख पछि सुख पक्कै आउँछनै ।

नेपालको गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ६ स्थित के. सी. परिवारमा जन्मेकी म चन्द्रमा केसी ।  बुबा राज कुमार के सी र आमा कृष्ण कुमारी केसी ज्युको जेष्ठ सुपुत्री  । हाम्रो जम्मा चार जनाको परिवार छ । हुनत सबैको आ–आफ्नो बाल्यकालको अनुभव हुन्छ । तर मेरो भने, छुट्टै खालको अनुभव छ । चार बुवाहरूको सबभन्दा जेठी सन्तानको रूपमा के सी परिवारमा जन्मेकी म मेरो वाल्य अवस्था मायाममतामै बित्यो ।

सानो छँदा साथीभाईहरुसँगै  खेल्ने डुल्ने रमाइलो गर्ने र सानो  हुँदा गरेको राम्रो र नराम्रो कामको यादले अहिले छुट्टै आनन्द र त्यो बेलाको छुट्टै खालको अनुभवको झल्को दिलाउँछ । जस्तै साथीभाइहरूसँग गुच्चा खेल्ने, लुकामारी खेल्ने, खोलामा जाने,  वनभोजमा जाने इत्यादि ।

बाल्यकाल पछि किशोर अवस्थाको अनुभव पनि बेग्लै थियो । छोरी भएकी हुँदा आफूमा आएको परिवर्तनको अनुभव र त्यसबेला आफ्नो आमाबुवाले दिएको संस्कारको अनुभवको पनि छुट्टै आनन्द थियो । मेरो आमाबुवाले दिएको संस्कारले गर्दा मैले आफ्नो बाटो कहिल्यै पनि बिराइन र नराम्रो काममा पनि लागिन् । आफ्नो पढाइ सँगसँगै आफ्नो व्यवहारिक अनुभव पनि मैले युवा अवस्थामा नै बटुलेको थिएँ । 

पढाईमा अब्बल दर्जाको विद्यार्थीको दर्जामा नपर्ने म मेरो पढाई निम्न खालको थियो । सामाजिक कार्यमा स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण गरेकी म । यही क्रममा मानवताको मन्दिर (मानवसेवा आश्रम लमजुङ जिल्लाको आश्रम)मा जोडिन पुगेको थिएँ । पहिलो चरणमा म मानवताको मन्दिरमा प्रवेश गर्दा साच्चिकै  प्रवित्र मन्दिरमा प्रवेश गरेको जस्तो लागेको थियो । हुनत मन्दिरहरू पवित्र नै हुन्छन् तर, यस मानवताको मन्दिर झन् पवित्र तीर्थस्थल को रूपमा अनुभव गरेँ ।

लमजुङ जिल्लामा रहेको एक मानवताको मन्दिरमा एकदम अलग किसिमको थियो । जहाँ मनरोगी बुबाआमाहरु (लक्ष्मीनारायण) आश्रित हुनुभएको थियो ।  मानवताको मन्दिरमा मलाई पहिलोचोटि प्रवेश गर्दा एक सकारात्मक प्रभावको अनुभूति भयो । ममा भएको नकारात्मक ऊर्जाहरू नष्ट हुँदै गयो । बुवाआमासँगको (लक्ष्मीनारायण) रमाइलो क्षणको अनुभव मनोमञ्जन गराएको अनुभव नाचेको र नचाहेको अनुभव बुवाआमासँग मिठो कुराकानी गरेको र उहाँहरुको जिवनको मिठो र तितो यथार्थको कुराकानी उहाँहरुलाई सेवा गरेको अनुभूति गर्दै मैले मानवसेवा आश्रम लमजुङमा धेरै कुराको अनुभव गर्न पाएँ ।

यस मानवताको मन्दिरबाट मैले धेरै ज्ञानको कुराहरू पनि सिक्ने मौका मिल्यो । जस्तै मानवताको मन्दिरमा ज्ञान हस्तान्तरण कार्यक्रम, व्यक्तिगत रूपान्तरण कार्यक्रम, प्रेरक कार्यक्रम, महायज्ञहरू इत्यादि । जसमा मैले सहभागि हुने मौका पाएँ र यस्तो राम्रो र पवित्र कामको अनुभव गरेँ । त्यसपछि म आफ्नो पढाइलाई निरन्तरता दिनको लागि काठमाडौँ लागेँ । केही समयको अन्तरालपछि म फेरि यस मानवताको मन्दिरमा जोडिन पुगेँ ।

पहिला लमजुङमा म स्वयंसेविकाको रुपमा सेवा गरेको थिए भने, अब चाहिँ कर्मचारीको रुपमा सेवा गरेको थिएँ । सेवाको क्रममा म मानवसेवा आश्रम गोरखा शाखामा सेवाको लागि पुगेको थिएँ । अरु शाखाहरू भन्दा छुट्टै गोर्खा शाखामा बाबुनानीहरू (बालगोपाल) हुनुहुँदो रहेछ  । बुवाआमासँगको (लक्ष्मीनारायण) अनुभवपछि मैले बच्चाहरूको अनुभव लिन पाए सँगसँगै मैले प्रशासनिक सेवाको पनि अनुभव लिएँ ।

बच्चाहरू भनेको जिउँदो भगवान हुन् । जिउँदो भगवानसँग रमाउन पाउँदा मलाई साँच्चिकै भगवानसँग नै छु जस्तो महसुस भएको थियो । बच्चाहरूको रुवाई बच्चाहरूको कराई बच्चाहरूको त्यो मिठो बोलीमा पनि झगडा मायाँ त्यो बानीले मलाई छुट्टै अनुभव गराएको थियो ।

आमा शब्द आफैमा एउटा महान शब्द हो । जसलाई कुनै पनि शब्दले व्याख्या गर्न सकिँदैन । जसमा मैले यो महान शब्द अनुभव गर्न पाएँ । श्रीकृष्णले भन्नुहुन्छ, कि जन्मदिने आमाभन्दा कर्म दिने आमा महान हुन् भनेर त्यो अनुभव मैले त्यस पवित्र मन्दिरमा पाएँ । 

बच्चा भनेको भगवानको रूप हो । यस्तै बच्चाहरुलाई चोटपटक लाग्दा मामु भन्दै रुएको र उहाँ उनीहरूको पीडाको आफूलाई पनि अनुभूति भएको अनुभवको छुट्टै हुँदो रहेछ । बच्चाहरूको  म सँगको मिठो मिठो पलको थोरै मात्र अनुभव छ । आश्रममा सेवा गरुन्जेल आफूसँग सुत्छु भनेर एकअर्कासँग मिठो झगडा गरेको आफूलाई भने छुट्टै आनन्दको अनुभूति आउँदो रहेछ । उहाँहरुले मप्रति देखाएको माया र आत्मीयताको आनन्द छुट्टै हुँदो रहेछ ।

हुन त आमाको मायाँ र ममता को तुलना नै गर्न सकिँदैन तर, पनि जन्मदिने आमा र कर्म दिने आमा अरुको बीचमा तुलना हुँदो रहेछनै । उहाँहरूलाई गराइएको बालक्रियाकलापले पनि मिठो सम्झना बोकेको छ ।

उहाँहरुको सहभगिता र सिकाइएको ज्ञानको क्रियाकलाप गराउन पाउँदा मलाई छुट्टै खालको अनुभूति भएको थियो । हुन त बच्चाहरू एकदम जिज्ञासु हुने गर्दछन् तर, त्यस मन्दिरको बच्चाहरूमा भएको जिज्ञासाको भावना देख्दाखेरि म आफै पनि चकित भएको थिएँ । कसरी किन कहाँ केबाट उनीहरूको जिज्ञासा सुरु हुन्थ्यो र मैले पनि त्यसैगरी उहाँहरुलाई त्यो जिज्ञासाको कुराहरु विस्तारमा बताइदिन्थेँ ।

मैले त्यस मानवताको मन्दिरबाट धेरै कुराको अनुभव लिन पाएँ । धेरै कुरा पनि सिक्न पाएँ । कसरी बच्चाहरुसँग कसरी मायाँ र ममताले जित्न सकिन्छ र कसरी बुवाआमाहरुसँग पनि मायाँ र ममताले जित्न सकिन्छ भन्ने कुराहरुको ज्ञान भयो ।

भनिन्छ संसारिक माया एक मोह हो भनेर तर, मायाँबाट नै कति जना मनरोगीहरूको (बुबाआमा) सुधार भएको छ र कति जनालाई पूर्ण मिलन पनि भएको छ भन्ने कुरा यस मानवताको मन्दिरबाट अनुभव गर्न पाएँ । 

“खुसी खोज्न काहीँ जानु पर्दैन, खुसी आफै भित्र छ, आफू खुसी त जगत खुसी” । जसको केही छैन त्यसको भगवान छ भन्थे, हो रहेछ । माया र ममताको महान शब्दको गहनरूपमा अनुभव गर्न पाएँ । साँच्चिकै मैले यस मानवताको मन्दिरमा जिउँदो भगवानको दर्शन पाएँ ।  

जय मानवसेवा 
जय मानवता ।।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update