TagaroNews
लमजुङ : तीन दशकको मुद्धाका दोषी धरौटी लगत्तै पक्राउ

लमजुङ – नागरिकता किर्ते मुद्धाका तीन दशकपछि पक्राउ परेका एक अभियुक्त जिल्ला अदालत लमजुङमा धरौटी बुझाएर छुटे लगत्तै पुन पक्राउ परेका छन् । 

लमजुङ प्रहरीले मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाका ५३ बर्षीय सु घलेलाई उनकै घरबाट फागुन ५ गते पक्राउ गरी नागरिकता किर्तेको अभियोगमा मुद्धा चलाएको थियो । 

जिल्ला न्यायाधिस कृष्ण प्रासाद पौडेलको फागुन २६ गतेको इजलासले नागरिकता किर्ते आरोपी घलेसँग ४० हजार रुपैँया धरौटी माग भएको थियो । घले फागुन २८ गते धरौटी बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए । 

जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका घलेलाई जिल्ला प्रहरी कार्यालयले तत्काल पक्राउ गरी लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं पठाएको छ । 

प्रहरीका अनुसार घले विभिन्न ३ मुद्धामा विगत ३० बर्षदेखी फरार रहेका थिए । घले नागरिकता किर्ते, दोहोरो राहदानी र लागुऔषधको मुद्धामा फरार सूचिमा थिए । 

एकै व्यक्तिसँग ३ वटा नागरिकता
घलेले विभिन्न चरणमा ३ वटा छुट्टा छुट्टै किर्ते नागरिकता बनाएको देखिन्छ । उनले बनाएको नागरिकता अनुसारको अभिलेख जिल्ला प्रशासन कार्यालयमा भेटिदैन् । 

३ वटै फरक–फरक नामबाट नागरिकता बनाएका उनको २ वटामा भने, जन्ममिति एउटै छ ।  उनले पहिलो पटक २०४४ सालमा गाउँमा सरकारी टोलि पुगेको बेला २०२८ साल बैशाख १० को जन्म मिति रहेको सुघले नाम राखी नागरिकता बनाए । 

तत्कालिन प्रमुख जिल्ला अधिकारी देवीप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले सो नागरिकता प्रदान गरेको भनेपनि, प्रशासनको अभिलेख हेर्दा सो समयमा देवीप्रसाद भट्टराई लमजुङको प्रमुख जिल्ला अधिकारी नै छैनन् । 

२०४८ सालमा पुनः प्रजिअ भट्टराईकै नेतृत्वमा दोस्रोपटक गएको टोलिसँग उनले सोहि जन्म मिति तर, नाम सुम घले रहेको नागरिकता बनाएको देखिन्छ । नाम फरक रहेपनि अन्य विवरण ती २ वटा नागरिकतामा मिल्छ । उनले दुवै नागरिकतामा बाहुनडाँडा गाविस–३, को ठेगाना छ । 

यता जिल्ला प्रशासन कार्यालयको अभिलेख हेर्दा देवी प्रसाद भट्टराई २०४९ साल पुस १७ मा प्रमुख जिल्ला अधिकारी भएको देखिन्छ । 

उनले पछिल्लो पटक भने, २०३१ साल पुस २१ गतेको जन्ममिति र बाबुआमाकै फरक नाम रहेको नागरिकता निकाले । सो नागरिकता भने, तत्कालित प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद त्रिपाठीको पालामा बनाएको देखिन्छ । अभिलेख अनुसार हालसम्म कृष्ण प्रसाद त्रिपाठी नाम गरेका प्रमुख जिल्ला अधिकारी लमजुङमा आएका छैनन् । 

२०४४ र २०४८ सालमा बनाएको नागरिकतामा बाबुको नाम मान बहादुर घले रहेकोमा पछिल्लो नागरिकतामा भने, मन बहादुर घले देखिन्छ । 

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले अभियुक्त घलेले बनाएको ३ वटै नागरिकता अनुसारको अभिलेख प्रशासनमा नरहेकाले सबै नागरिकता किर्ते नै रहेको बताए । 

प्रहरीका अनुसार घलेलाई २०५० सालमा मुद्धा चलाइएको थियो । उनको बाबुआमाले भने, २०५१ सालमा छोरा हराएको भनी कागज गराएका थिए । 

पछिल्लो समय सउदीबाट नेपाल आएका घलेलाई प्रहरीले गोप्य सूचनाका आधारमा उनकै घरबाट पक्राउ गरेको हो । 

जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार अभियुक्त घलेले बयानका क्रममा आफुलाई नागरिकता बनाइदिने व्यक्ति छिरिङ रहेको उल्लेख गरेका छन् ।

सो बेलाका अन्दाजी ५० बर्षका छिरिङले नागरिकता र राहदानी दुबै बनाइदिएसँगै आफु काठमाडौंबाट भागेर बम्बै गएको र धेरै पछि नेपाल आएको बताएका थिए । यो बाहेक अन्य कुरा आफुलाई थाहा नभएको बयान दिएको श्रेस्तेदार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update