TagaroNews
लमजुङमा विद्यालय निरीक्षक हुँ भन्दै पैसा असुल्ने पक्राउ

लमजुङ – विद्यालय निरीक्षक हुँ भन्दै एजुकेशन फाउन्डेशनको नाममा पैसा असुल्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका–२, बस्ने ३७ बर्षीय बिरेन्द्र कुमार रहेका छन् । 

उनले दुधपोखरी गाउँपालिकाका विभिन्न विद्यालयमा पुगी जिल्लाबाट आएको विद्यालय निरीक्षक हुँ भन्दै एजुकेशन फाउन्डेशनमा सहयोग गरे तालिम र शैक्षिक सामाग्री सित्तैमा पाइने र अनिर्वाय सहभागी गराउने भन्दै पैसा असुल्दै गरेको भेटिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विचौरका प्रहरी नायव निरीक्षक प्रमोद नेपालीले बताए । 

प्रहरीका अनुसार ती युवा आइतबार बिहान साढे ११ बजेतिर दुधपोखरी गाउँपालिका–५, कोल्की दोभान स्थित बुद्ध प्राथामिक विद्यालयमा पुगे । विद्यालयका प्रधानाध्यापक शम्भुलाल तामाङसँग आफु जिल्लाबाट आएको विद्यालय निरीक्षक रहेको भन्दै विद्यालय अनुगमन गरेजस्तो गर्छन् । 

सो पश्चात आफु एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशन नेपाल भन्ने संस्थामा समेत रहेको बताउँछन् । सो फाउन्डेशनले शैक्षिक सामाग्री र तालिम सित्तैमा उपलब्ध गराउने र सोको लागी केहि रकम दिनुपर्ने भन्दै विद्यालयका दुई जना शिक्षकसँग प्रतिव्यक्ति २ हजार ७ सय रुपैँयाका दरले रसिद काट्छन् । र अन्य विद्यालयमा पुग्ने भन्दै त्यहाँबाट बाटो लाग्छन् । 

दुधपोखरीबाट छिमेकी जिल्ला गोरखातर्फ लागेका ती युवालाई सिरानचोक गाउँपालिका–१, केराबारीका स्थानीय युवाहरुले नियन्त्रणमा लिएर सिरानचोककै प्रहरी चौकी धारापानीमा बुझाइदिए ।  

सो पश्चात धारापानी प्रहरीको सहयोगमा उनलाई इलाका प्रहरी कार्यालय विचौर ल्याइएको प्रहरी नायव निरीक्षक नेपालीले बताए । उनका अनुसार पक्राउ परेका बिरेन्द्र कुमारको साथबाट मोटरसाईकल र एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशन नेपाल नाम रहेको सहयोग रसिद फेला परेको छ । 

उनलाई थप अनुसन्धानका लागी सोमबार बिहान जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको प्रहरी नायव निरीक्षक नेपालीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update