
लमजुङ – भिडभाड हुने कार्यालयमा पर्छ करदाता सेवा कार्यालय बेसीशहर । लमजुङ र मनाङका करदातालाई लक्षीत गरी बेसीशहरमा सञ्चालित यो कार्यालय प्राय व्यस्त नै रहन्छ । हिमाली जिल्ला मनाङ र लमजुङका सुगम देखी विकट क्षेत्रबाट काम लिएर थुप्रै साना तथा ठूला करदाता सेवाग्राही दैनिक ठूलो संख्यामा कार्यालय धाउँछन् ।
जिल्लामै करदाता कार्यालय आएसँगै उत्साहित सेवाग्राहीलाई कार्यालयकै कर्मचारीले बारम्बार दुःख दिने गरेको गुनासो बढेको छ । कार्यालयका एक कर्मचारीको व्यवहार र काम गराईले थुप्रै करदाताले सास्ती खेप्नुपरेको गुनासो तगारो न्युजलाई प्राप्त भएको हो ।
गुनासोसँगै केही सेवाग्राहीसँग प्रत्यक्ष र केहिलाई फोन सम्पर्क मार्फत बुझ्दा ति सेवाग्राहीले निकै दुःखेसो पोखे । तत्काल हुनुपर्ने सामान्य फाइल पनि तिनै कर्मचारीले रोकिदिने गरेका कारण थुप्रै सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरे ।
ती कर्मचारी हुन, करदाता सेवा कार्यालयका नायव सुब्बा एवं सूचना अधिकारी महेश शर्मा । उनले सेवाग्राही त छोडौँ, आफनै कार्यालय हाकिमलाई समेत गन्दैनन् । सेवाग्राहीबिच निकै अटेरीपन देखाउने उनको व्यवहारले धेरैले पाउनुसम्मको सास्ती खेप्न बाध्य छन् । शर्माले सेवाग्राहीको तत्काल हुने काम पनि अनेक बहनाबाजी बनाएर दुःख दिने गरेको सेवाग्राहीको गुनासो छ ।
कार्यालयमा भेटिएका एक सेवाग्राहीले नाम नबताउने सर्तमा गुनासो पोख्दै भने, ‘उनले नजानेको काम नै छैन होला तर, सेवामा आएका सेवाग्राहीसँग मिठो बोले त हुने नी । रिसाएर बोल्ने, सेवाग्राहीले नबुझेर सोधेको कुरा भन्न नी नखोज्ने, सजिलै हुने काम पनि झुलाउने मात्र गर्छन् ।’
बेसीशहरका एक खाजा घरका सञ्चालक एउटै कामले यस कार्यालय धाएको ५ महिना नाग्यो । उनले ५ महिना अघि कार्यालयमा अन्तःशुल्क प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन पेश गरेका थिए । सो प्रमाणपत्र सिस्टममा नआएको र बक्यौता देखाइरहेकोले उनी पटक–पटक कार्यालय धाए र सिस्टमबाट हटाइदिन भने । तर, अहिलेसम्म उनको काम नै भएको छैन् ।
सञ्चालक भन्छन् ‘एउटै काममा ती कर्मचारीले मलाई बारम्बार झुलाइरहे, अहिले त मेरो फाइल नै हरायो भन्दै छन् । निवेदन पनि फेरी दिनुपर्ने रे । पैसा तिरेको यत्रो समय भयो, न सिस्टममा देखाउँछ, न कर्मचारीको व्यवहार राम्रो छ । अझै कति धाउनु, दुःख मात्र पाइयो ।’
मध्यनेपाल नगरपालिकाका एक व्यवसायीले सरकारले दिएको छुट समेत नपाएको गुनासो पोखे । उनले भने, ‘सेवाग्राहीलाई थाहा नभएको कुरा त थाहा दिनु कर्मचारीको दायित्व हो नी । शर्मा त सूचना अधिकारी समेत हुन्, सूचना दिनु त परे जाओस, छुटबारे सोध्दा उल्टै हामीले केही गर्न मिल्दैन विभागमा जानुस भन्दै झर्किए ।’
यी सेवाग्राही त केही उदाहरणका पात्र हुन् । उनको व्यवहार र कार्यशैलीले दुःख पाउने धेरै छन् । उनको कार्यशैलीले सेवाग्राही मात्र होइन, कार्यालयभित्रका कर्मचारी समेत दिक्क छन् ।
यसबारे स्वयं कार्यालयका नायव सुब्बा एवं सूचना अधिकारी महेश शर्मासँग कुरा गर्दा उनले यो कुरा सबै गलत भएको प्रतिक्रिया जनाए । उनले भने, ‘यी सबै कुरा गलत हुन, अहिलेसम्म त्यस्तो काम भएको छैन् । कुनै काम पनि रोक्किएको छैन, मेरो कार्यकक्षमा आएर बुझ्दा पनि हुन्छ ।’
सेवाग्राहीलाई मध्यनजर गर्दै नाम र केही तथ्य प्रमाणहरु भने, सार्वजनीक गरिएको छैन् ।