
लमजुङ – मर्स्याङ्दी नदीमा अवैध रुपमा खुलेआम नदी दोहन भइरहेको छ । मर्स्याङ्दी गाउँपालिका–७, ङादी स्थित मर्स्याङ्दी नदीको कत्मे बगर क्षेत्रमा खुलेआम रुपमा स्काभेटर प्रयोग गरी दिनदहाडै नदी दोहन गरेको तगारो न्युजले फेला पारेको हो ।
विगत केहि समयदेखी ङादी क्षेत्रलाई आफ्नो ‘कब्जाक्षेत्र’ जस्तै बनाएर ठेकेदार र स्थानीय युवाहरुले मर्स्याङ्दी नदीमा विना अवरोध स्काभेटर चलिरहेका छन् । लस्कर लागेका टिप्परले नदीजन्य सामाग्री ओसारिरहेका छन् । दिनदहाडै यस्तो अवस्था हुँदा पनि स्थानीय तह मुकदर्शक झैँ छ ।
नदीजन्य पदार्थको उत्खननमा स्काभेटर प्रयोग गर्न नहुने, ३५ सेन्टिमिटरभन्दा गहिराइबाट नदीजन्य पदार्थको उत्खनन गर्न नहुने व्यवस्था छ । तर, नदीमा खुलेआम स्काभेटर चलिरहेका छन् ।
‘रातदिन नदीजन्य वस्तुहरू खोलामा उत्खनन् भइरहेका छन्, तर कसैले पनि रोक्दैन,’ एक स्थानीयवासीले भने, ‘जनप्रतिनिधि सबै प्रभावमा परेका छन्, नत्र त खुलेआम खोला दोहन भइरहँदा रोक्नुपर्ने हो ।’
‘देखेर पनि नदेखेझैँ गर्छन् जनप्रतिनिधि’ अर्का एक स्थानीयले भने, ‘थाहा त होला नी । तर, अवैध उत्खनन् रोक्न नसक्नु र नरोकिनुमा राजनीतिक पहुँच र प्रलोभनले काम गरेको स्पष्टै हुन्छ ।’
यसबारे मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईसँग बुझ्दा नदी उत्खननबारे फागुन २० गते नै सूचना पाएकाले २१ गतेबाट स्काभेटर प्रयोग गरेर उत्खनन् कार्य रोकेको भन्दै झुट बोले ।
स्थानीयको गुनासो पश्चात तगारो न्युजको समूह फागुन २३ गते शुक्रबार दिउँसो सोही स्थानमा पुग्दा दिनदहाडै नदीमै स्काभेटर प्रयोग गरि नदीजन्य सामाग्रीको उत्खनन् भइरहेको थियो । सो कार्य तगारो न्युजले प्रत्यक्ष लाईभ समेत गरेको छ ।
सूचना पाएसँगै नदीमा स्काभेटर प्रयोग गर्न रोक लगाएको र कारबाही भने नगरेको प्रमुख प्रशासकीय अधिकृत चपाईको जवाफले यो कार्य स्थानीय सरकारको मिलेमतोमा नै भइरहेको त छैन भन्ने प्रश्न खडा भएको छ ।