TagaroNews
जनकल्याण सहकारी ठगी प्रकरणः बैंक ग्यारेन्टी बुझाएर रिहा भइन मधुमाया [फलोअप]

लमजुङ – लमजुङको जनकल्याण सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपी मधुमाया बगाले धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला अदालतले सहकारी ठगीमा मागेको ८५ लाख रुपैँया बैंक ग्यारेन्टी बुझाएर उनी मंगलबार रिहा भएकी हुन् । 

जिल्ला न्यायाधिश कृष्ण प्रसाद पौडेलको फागुन १३ गतेको इजलासले सहकारी रकम अपचलन आरोपी बगालेसँग ८५ लाख रुपैँया धरौटी माग भएको थियो । सोही अनुसार, उनी मंगलबार कारागारको एक हप्ताको बसाईपछि बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।

बगालेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार सो रकम बराबरको धरौटी माग गर्ने आदेश गरेको अदालतले जनाएको छ । यस्तै सोहि इजलासले अर्का आरोपी जनकल्याण सहकारीका ङादी सेवा केन्द्र प्रमुख बिरेन्द्र गुरुङलाई पूर्पक्षका लागी थुनामा पठाइसकेको छ ।

मंगलबार सात जना साची बसेर प्राइम बैंक बेसिशहर शाखाबाट बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाइएको छ । साची बस्नेहरु नन्दराज भण्डारी, नन्दराम विश्वकर्मा, पुर्ण बहादुर थापा, विष्णुमाया भण्डारी, लक्ष्मी धिताल, गुमानसिंह भण्डारी र सुर्य प्रसाद भण्डारी छन् । साची बस्नेहरु आफन्त र चिनजानका व्यक्तिहरु रहेको अदालतले जनाएको छ । 

जनकल्याण सहकारीको ११ करोड २० लाख रुपैँया अपचलनको आरोपमा प्रहरीले दुई जना बिरुद्ध सहकारी ठगी र सम्पती शुद्धीकरणको मुद्धामा ८६ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

चार जना फरार प्रतिवादी पक्राउ गरिदै
सहकारी ठगी प्रकरणमा फरार सूचीमा रहेका अन्य चार जना प्रतिवादीलाई पक्राउ गर्ने तयारीमा रहेको अदालतले जनाएको छ । 

फरार सूचीमा मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीकी अनिशा भण्डारी, सोहि ठाउँका नवीन बगाले, मर्स्याङ्दी–३, खुदी बस्ने तुलमाया तामाङ र सोहि वडाको ढगै निवासी पदम बहादुर गुरुङ छन् । उनीहरुलाई पक्राउ पुर्जी जारी गरी केही दिनमै पक्राउ गरिने अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए । 

नविन बगाले मधुमायाका छोरा हुन् भने, पदम बहादुर गुरुङ बिरेन्द्रका बुबा हुन् । अनुसन्धानका क्रममा उनीहरुको नाममा सम्पती देखिएकाले सम्पती जफतका लागी प्रतिवादी बनाएको अदालतले जनाएको छ । 

अनिशा भण्डारी र तुलमाया तामाङले भने, मधुमायालाई सहकारी ठगीमा सहयोग गरेको देखिन्छ । मधुमायाले अनिशालाई प्रयोग गरी सम्पति राखेको देखिन्छ । उनीहरु नातामा फुपु भदिनि हुन् । 

यता तुलमाया तामाङले सहकारीमा २० लाख र २५ लाखको चेक कारोबार गरेको देखिन्छ । तुलमायाले दिएको सहकारीको चेक सेवा केन्द्र प्रमुख बिरेन्द्रले मधुमायालाई दिएको देखिने अदालतले जनाएको छ । 

मधुमायाको गरिमा, एन.आइसी.एसिया, ग्लोवल आइएमइ र हिमालयन बैंकमा कारोबार भएको देखिन्छ । २०७९ सालदेखी मधुमाया र उनको परिवारका सदस्यले विभिन्न बैंकबाट ८५ लाख ७९ हजार ७ सय ११ रुपैँया बैंकबाट निकालेको देखिन्छ ।

यो पनि पढ्नुहोस ....

जनकल्याण सहकारी ठगी प्रकरणः मधुमायासँग ८५ लाख धरौटी माग, गुरुङ कारागार चलान

जनकल्याण सहकारी प्रकरणः नक्कली ऋणी बनाएर १० वर्षमा ११ करोड ‘झ्वाम’

सहकारी ठगी प्रकरणः मधुमाया बिरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सहकारी ठगी: मर्स्याङ्दी गाउँपालिका कार्यपालिका सदस्य मधुमाया पक्राउ

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update