TagaroNews
जिल्ला खेलकुद विकास समिति लमजुङ पदाधिकारीको पदावधि समाप्त

लमजुङ – जिल्ला खेलकुद विकास समिति लमजुङको पदाधिकारी तथा सदस्यहरुको पदावधि समाप्त भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको पदावधि समाप्त भएको भन्दै पत्र काटेको छ ।

प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ११ (४) बमोजिम समिति गठन भएको मितिले ४ वर्ष रहने व्यवस्था छ ।

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३० मा भएको व्यवस्था बमोजिम २०७७ साल फागुन ९ गते जिल्लाहरुमा जिल्ला खेलकुद विकास समितिको गठन गरेको थियो । नियमावलीको नियम २३ (२) को व्यवस्था बमोजिम समिति गठन भएको मितिले ४ वर्षको पदावधि फागुन ८ गते बिहिबार समाप्त भएको छ । 

नियमलाई टेकेर परिषद्ले पदावधि समाप्त भएकाले अब उप्रान्त पदीय हैसियतबाट कुनै पनि कार्य नगर्न, नगराउन र बैक खाता समेत संचालन नहुने व्यवस्था मिलाउन भनेको छ । 

नियमानुसार समितिका पदाधिकारी तथा सदस्यहरुको जिम्मामा रहे भएका नगद तथा जिन्सी समानको बरबुझारथ गर्न र समितिको दैनिक प्रशासन सञ्चालन कार्यालय प्रमुखले गर्न पत्र काटेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए ।

जिल्ला खेलकुद विकास समिति लमजुङको अध्यक्ष योग बहादुर गुरुङ (कालु) रहेका छन् । उनकै नेतृत्वको समितिले यतिवेला प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिरहेको छ ।

सदरमुकाम बेसीशहर स्थित सहजी खेलमैदानमा फागुन ६ देखी १८ गतेसम्म समितिले महोत्सव आयोजना गरेको छ । 

परिषदका अनुसार लमजुङ सहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेको जिल्ला खेलकुद विकास समितिको पदाधिकारी तथा सदस्यहरुको पदावधि समाप्त भएको हो ।  


प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update