
लमजुङ – सुन्दरबजार नगरपालिका–९, भोटेवडार स्थित भक्तिनमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्तिको विषयमा यतिवेला विवाद चुलिएको छ ।
विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद घिमिरेको राजीनामा स्विकृतसँगै नव प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद अघि बढेको हो ।
प्रअ घिमिरेको राजिनामा पत्र विद्यालय व्यवस्थापन समितिको फागुन १ गतेको वैठकले स्वीकृत गर्र्यो । सोही वैठकले निर्णय गर्दै विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज अधिकारीलाई निमित्त प्रधानाध्यापक पदको जिम्मेवारी तोक्यो । तर, यतिवेला समितिको यही निर्णयमा नै विवाद तथा असन्तुष्टी चुलिएको हो ।
वरिष्ठतामा शिक्षक ओम बहादुर भुजेल पहिलो वरियतामा रहने र दोस्रो वरियताका शिक्षक नवराज अधिकारीलाई व्यवस्थापन समितिले निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको भन्दै विवाद चलेको छ ।
विद्यालयका अध्यक्ष मानकृष्ण आचार्यले शिक्षक साथीहरुको बहुमतसँगै अभिभावकको मुल्याङ्कनका आधारमा व्यवस्थापन समितिले प्रधानाध्यापकको निर्णय गरिएको बताए ।
उनले भने, ‘हामीले सबै पक्षको राय बुझेर नै प्रअ नियुक्ति गरेका हौँ । उहाँको बुवा विद्यालयको जग्गादाता पनि हो । सामुदायिक विद्यालयलाई विवादित बनाएर निजि विद्यालयलाई पोस्न खोज्ने केही व्यक्तिहरुले यस्तो फन्डा ल्याएका हुन् । आत्तिनुपर्ने अवस्था छैन् ।‘
बहुमत रायसुझावको आधारमा समितिले गरेको निर्णय उपयुक्त रहेको अध्यक्ष आचार्यले दावी गरे ।
सुन्दरबजार नगरपालिका शिक्षा शाखा प्रमुख ठाकुर तिवारीले भक्ति नमुना माविको विवादबारे छलफलमा रहेको बताए । उनले भने, ‘व्यवस्थापन समितिले नवराज सरलाई नियुक्ती गरेछ । तर, वरियतामा पहिलो रहेको भन्दै ओम सरको उजुरी आएको छ । हामी उजुरी लगाएतका पक्ष अध्ययन गर्दैछौँ ।’
शिक्षा नियमावली र पालिकाको कार्यविधिले भने, वरिष्ठतमलाई नै नियुक्त गरी काम गर भन्ने उनले जानकारी दिए ।
यता शिक्षक ओम बहादुर भुजेलले निमित्त प्रधानाध्यापक पदको जिम्मेवारीबारे नगरपालिकाको शिक्षा समिति अथवा कार्यपालिकामा छलफल नै नगरी व्यवस्थापन समितिले आफुखुसी गरेकोमा आपत्ति प्रकट गरे ।
उनले नगरपालिकामा उजुरी गर्दै शिक्षा नियमावली २०५९ र सुन्दरबजार नगरपालिकाको शिक्षा ऐन २०७५ (पहिलो संशोधन २०७८ सहित)को सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ को दफा १३ को उपदफा १ अनुसार उपयुक्त निर्णय लिइदिन आग्रह गरेका छन् ।
शिक्षक ओम बहादुर भुजेलले पालिकामा दिएको उजुरी ।