
लमजुङका अधिकांश ग्रामीण भेगमा व्यवसायीक रुपमा कृषी कर्म गरी खाने कृषकहरु प्रशस्त छन् । तर, उनीहरुको कृषि पेशा कसरी चलेको छ ? उत्पादन अनुसारको बजारीकरण छ छैन ? कसैसँग उत्तर छैन् । कृषिमा आत्मनिर्भर बनाउने नारा चलिरहेको बेला लमजुङका कृषकले पाएको अनुदान देख्दा जो कोहि चकित पर्छ । यहाँका व्यसायीक कृषकहरुलाई छनोट गरी कृषि ज्ञान केन्द्र, लमजुङले ‘फलफुल बगैँचा तथा व्यवस्थापन सुदृढीकरण कार्यक्रम’ मार्फत छुट्याइएको अनुदान रकम हेर्दा व्यवसायीक कृषकहरुलाई गिज्याइरहेको महसुस हुन्छ । ७ लाख ५० हजार रुपैँया रकम २९ वटा फर्म छनोट गरी बाँडीएको छ ।
लमजुङ – क्होलासोंथार गाउँपालिका–६, पसगाउँका होम बहादुर गुरुङले विगत लामो समयदेखी १२ रोपनी क्षेत्रफलमा व्यवसायीक किवी खेती गर्दै आएका छन् । प्रगतिशिल एकिकृत कृषि फर्म मार्फत व्यवसायीक खेती गर्दै आएका गुरुङले किवी खेतीलाई थप विस्तार गर्ने सोच बनाए ।
कृषि ज्ञान केन्द्र, लमजुङमा आर्थिक बर्ष २०८१/०८२ मा फलफुल बगैँचा तथा व्यवस्थापन सुदृढीकरण कार्यक्रम’ अन्तर्गत व्यवसायीक कृषकलाई अनुदान रकम छुट्याएको उनले थाहा पाए । गुरुङले अनुदान रकममा आफनो फर्म छनोट भए किवी खेतीलाई थप व्यवस्थापन गर्ने सोचका साथ कार्यालयमा पुगेर फारम भरे ।
उनले भने, ‘आफनो व्यवसायीक खेती थप व्यवस्थापन गर्ने सोच आयो । त्यहि अनुसार सदरमुकाम स्थित कार्यालय पुगेर आवश्यक प्रक्रिया बुझेँ । पहिलो चोटी निवेदन दिनका लागी गाउँबाट एकतर्फी जीपमा १३ सय भाडा तिरेर बेसीशहर झरेँ । आउ, जाउ खाने खर्च छुट्टै छ । अनुदानको लागी कागजपत्र जुटाउन र वडा कार्यालयमा सिफारिस बनाउन त्यस्तै झनझट ।’
उनको प्रगतिशिल एकिकृत कृषि फर्म कृषि ज्ञान केन्द्र, लमजुङबाट अनुदानका लागी छनोट भयो । तर, रकम भने, ३५ हजार रुपैँया (५० प्रतिशत अनुदान) मात्र ।उनले थपे, ‘पहिलो पटक निवेदन दिन आउ, दोस्रो पटक सम्झौता गर्न । अर्को पटक पुनः भुक्तानी लिन । यसरी पटक–पटक कार्यालय धाउँदा त जीप भाँडा मात्रै ७ हजार ८ सय खर्च भयो । अन्य खर्च जोड्दा त, १५ हजार बढी खर्च । त्यति भए त हुने नी, फेरी कर्मचारीले यो मिलेन, त्यो मिलेन भनेर दुःख दिने ।’
अनुदान रकमबाहेक ५० प्रतिशत आफैले व्यहोर्ने भएपछि ७० हजारको स्टमेट गरी ३५ हजार रुपैँया अनुदान ल्याउँदा आफ्नो खर्च उल्टै ५० हजार भएको उनले दुखेसो पोखे । उनले प्रश्न गर्दै भने, ‘अनुदान पाएँ भनेर के गर्नु ? कृषकलाई दुख मात्र ।’
होम बहादुर जस्तै राइनास नगरपालिका–२, साईलीटारका कृषक ऋषीराम पन्थीको पिडा पनि उस्तै छ । एकता कृषि फर्मका सञ्चालक पन्थीले १० रोपनी क्षेत्रफलमा आँप, लिचि लगाएतका फलफुल खेती गर्दै आएका छन् ।
आफनो व्यवसायीक कृषि फर्मलाई थप व्यवस्थित बनाउने उद्धेश्यले उनले कृषि ज्ञान केन्द्र, लमजुङमा अनुदानका लागी फारम भरे । तर, नाम मात्रको अनुदान पाएको उनको गुनासो छ । उनले भने, ‘अनुदानका लागी कार्यालयमा ३ पटकसम्म धाँए । आफनो फलफुल बगैँचा व्यवस्थापन गर्ने सोच छ । सोको लागी सुस्मखाद्य तत्व, विषादी र मल पाउनुपर्ने हो । चाहिएको पनि त्यहि थियो । तर, उक्त अनुदानको रकमले मेसिनरी सामान मात्र किन्नुपर्ने रहेछ ।’
उनले थपे, ‘कार्यालयका कर्मचारी मेसिनरी सामान जिल्लाबाट नै खरिद गर्नुपर्छ भन्छन् । तर, यहाँ सामान पाउँदैन । कुनै एक पसलले हामी ल्याइदिन्छौँ भन्छ । तर, एउटा मात्र सामान आउँदा रोजेर लिन नै पाइदैन ।’ स्टमेट अनुसारको सामानको मुल्य कहिले धेरै त कहिले थोरै हुने हुँदा जुन थोरै आउँछ त्यस्को ५० प्रतिशत अनुदानमा खरिद गर्नुपर्ने बाध्यता उनले सुनाए ।
अनुदान पाउनका लागी निवेदन, सम्झौता, भुक्तानी, वडाको सिफारिस र फोटोकपी लगाएतका काममै धेरै रकम खर्च हुने उनले बताए ।
बेसीशहर नगरपालिका–१०, पासाचौरका कृषक चित्र गुरुङको गुनासो पनि त्यस्तै छ । सु.न.सी. कृषि तथा पशुपालन फर्मका सञ्चालक गुरुङले साढे ७ रोपनी क्षेत्रफलमा व्यवसायीक कागती खेती गरेका छन् ।
आफनो कागती खेतीलाई थप व्यवस्थित बनाउने उद्धेश्यले उनले पनि अनुदानको फारम भरे । उनको फर्म छनोट पनि भयो । तर, जम्मा १२ हजार रुपैँया अनुदान उनले पाउने भए । उनले कार्यालयमा गएर सम्झौता समेत गरे ।
उनले भने, ‘खेतीमा सिञ्चाईको आवश्यकता रहेको सुनाएँ । सोहि अनुरुप ५ सय लिटरको ट्याङ्की, २ सय मिटर पाइप र विषाधी छर्ने स्प्रे मिल्ने भयो । तर, ५० प्रतिशत अनुदान अन्तर्गत २४ हजारको स्टमेट बन्यो । स्टमेट बनेपनि ५० प्रतिशत रकम तत्काल लगानी गर्न आफु असमर्थ छु । मसँग पैसा छैन् ।’
यी त प्रतिनिधि पात्र मात्र हुन् । यो शिर्षकमा अनुदान पाउने प्राय सबै किसानको दुखेको एउटै छ । कृषि ज्ञान केन्द्र, लमजुङमा आर्थिक बर्ष २०८१/०८२ अन्तर्गत ‘फलफुल बगैँचा तथा व्यवस्थापन सुदृढीकरण कार्यक्रम’ मार्फत यसबर्ष ७ लाख ५० हजार रुपैँया छुट्याइएको थियो । सो रकमका लागी ३३ वटा कृषि फर्मले अनुदान फारम भरेका थिए । कार्यालयका प्राविधिकको अनुगमन र मुल्यांकन पश्चात अनुदानका लागी २९ वटा फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका सूचना अधिकारी सरोज थापाले बताए ।
उनले भने, ‘माथिबाट यो शीर्षकमा छुट्याएर आएको रकम नै यति हो । सोहि रकमको आधारमा हामीले आवेदन माग गरेका हौँ । रकम कार्यालयले छुट्याउने होइन । छनोट भएका २९ वटा फर्मलाई सो रकम भागवण्डा लगाउँदा धेरै रकम पाउनेले ४५ हजार रुपैँया पाएको छ भने, कम रकम पाउनेले जम्मा १२ हजार रुपैँया पाएको छ ।’
छनोट पश्चात अनुदान सम्झौता भएका कृषि फर्महरु ।