
मुग्लिन – नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक युवक बेपत्ता भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले बताए ।
शुक्रबार बिहान करिब १२ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक युवा त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्द्रेश्वर गाविस–३, गिरेचौर घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१, रामनगर बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचपयत्र भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।