TagaroNews
राइनास नगरपालिका सार्वजनिक जग्गा संरक्षणमा सक्रिय

लमजुङ – राइनास नगरपालिका सरकारी सम्पति संरक्षणमा सक्रिय बनेको छ । पालिकाले नगर भित्र अतिक्रमण भएका तथा व्यक्तिले भोग चलन गरेका सार्वजनिक जग्गा संरक्षण कार्यलाई तिव्रता दिएको हो ।

पालिकाभित्रका १० वटै वडामा सार्वजनिक जग्गा खोजी तथा संक्षरण गर्ने कार्य अन्तर्गत जग्गा सिमाङ्कन सुरु गरिएको नगरप्रमुख खड्गवहादुर गुरुङले बताए । 

उनले भने, ‘हामी सरकारी सम्पति संरक्षणमा लागेका छौँ । सुरुवाती चरणमा वडा नं. १ को चिल्लीखोलाबाट वडा नं. २ को सिमा सम्मको करिव ५० रोपनी सार्वजनिक जग्गामा सिमाङ्कन गरेका छौँ । यो प्रक्रिया पालिकाभर सुरु भएको छ ।’ 

राइनास–१ स्थित बाजार क्षेत्र, खोला र नहर क्षेत्रमा स्थानीयले भोग चलन गर्दै आएको सार्वजनिक जग्गाको सिमाक्षेत्रमा किला गाडेर रेखाङ्कन गरिएको प्रशासकिय अधिकृत धनेश्वर पौडेलले बताए । 

नगरकार्यपालिका बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरेअनुसार पालिका प्रमुख सहित कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत, सम्वन्धित वडाअध्यक्ष, सुरक्षाकर्मी र अमिन सहितको टोलीले सार्वजनिक जग्गाको सिमाक्षेत्र छुट्याउने कार्य थालेका छन् । 

नगरपालिकाले सवै वडामा सार्वजनिक जग्गा खोजी गर्ने तथा सिमाक्षेत्र रेखांकन गरिसकेपछि उक्त जग्गामा भएका संरचना हटाउने उपप्रमुख पुुष्पराज खनालले जानकारी दिए । 

स्थानियले भोग चलन गरेको तथा विगतमा व्यक्तिले जानेर होस् या नजानेर अतिक्रमण गरी कुनै संरचना बनाएको भए उक्त संरचना हटाउन पालिकाले अनुरोध गर्ने र सोको अटेर गरेमा नगरपालिकाले नै हटाउने पालिकाले जनाएको छ । 

यसअघि गत भदौमा नगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरि तिन महिना भित्र सार्वजनिक जग्गामा भए गरिएका अनधिकृत प्रयोग, वनाइएका भवन, घर, टहरा लगायतका संरचना हटाउन अनुरोध गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update