TagaroNews
लमजुङमा चिनियाँ ठेकदारद्धारा खुलेआम नदीजन्य किराको कारोबार, सम्बन्धीत निकाय मौन

लमजुङ – जिल्ला स्थित मर्स्याङ्दी नदी किनारमा यतिवेला चिनियाँ ठेकदारद्धारा खुलेआम रुपमा नदीजन्य किराको कारोबार भइरहेको छ । पतेरा प्रजाति जस्तो देखिने (कालो गनाउने किरा) स्थानीयलाई प्रयोग गरेर खोजी गरी दैनिक बोराको बोरा कारोबार हुँदा समेत सम्बन्धीत निकाय अनविज्ञ छन् । 

बिशेष गरी मर्स्याङ्दी गाउँपालिका–३, अर्खलेबेसी देखी बेसीशहर नगरपालिका ६ र १० वडाको सिमाक्षेत्र मर्स्याङ्दी नदी किनारमा करिब एक हप्तादेखी यो किराको संकलन भइरहेको छ । 

किरा संकलनमा गोरखा, धादिङ लगाएतका जिल्लाका नागरिकहरु समेत प्रयोग भएका छन् । लमजुङका स्थानीयले भने, ढिला मात्र यो किरा संकलनबारे जानकारी पाएको बताउँछन् । 

किरा संकलन गरिरहेका एक स्थानीयले भने, ‘नदि किनारमा ढुङ्गा खोतल्दै, पल्टाउँदै गरेर हिडिरहेका थुप्रै मानिसहरु देखा परे । उनीहरुलाई के खोजेको भनेर सोध्दा ढुङ्गा खोजेको भन्ने जवाफ दिए । तर, पछि किरा देखेपछि बल्ल कुरा खोले । ठेकेदारले यो किरा संकलन गर भनेर खोज्दै आएको हो ।’

अर्का स्थानीयले भने, ‘संकलन गरेको किरा सुरुमा ठेकेदारले २ हजार रुपैँया किलोमा लाने गरेको र सुकाएको किरा किलोको ७ हजार रुपैँयामा उठाएको रहेछ । अहिले बाहिरी जिल्लाबाट आएकाले सबै किरा सक्काइसके । स्थानीयले त बल्ल थाहा पाएर खोज्न थालेको हो ।’

अहिले ठेकेदारले रकम बढाएर जिउँदो किराको किलोमा ४ हजार र सुकाएको किराको किलोमा ८ हजार सम्म दिने गरेको छ ।

यतिबेला किरा संकलनमा बेसीशहर नगरपालिका देखी मर्स्याङ्दी गाउँपालिकाका अधिकांश स्थानीय नदीमै छन् । 

बिहानैदेखी गल, खन्ती, कुटो, कोदालो र झोला बोकेका स्थानीय खोलामा देखिन्छन् । केही स्थानीयका अनुसार स्थानीय ठेकेदारले यो किरा संकलन गरेर चाइनिज एजेन्टलाई बिक्री गरेको खुलेको छ । 

तर, यो किरा के हो ? यस्को नाम के हो ?  किन संकल गरिएको हो ? यसरी संकलन गरिने प्रक्रिया वैध हो कि अवैध ? यो विषयमा भने, संबन्धीत निकाय अनविज्ञ छन् । 

किरा संकलन गरेकाहरुले लाखौँ रकम कमाएको भनेपनि यसरी नदी क्षेत्रमा भइरहेको यो कार्यको विषयमा न डिभिजन वन कार्यालयले चासो दिएको छ, न त अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले नै । 

यो विषयमा डिभिजन वन कार्यालयका प्रमुख दिपक पण्डितसँग बुझ्दा उनले भने, ‘यो विषय नौलो हो । हामीले पनि भर्खर मात्र थाहा पाएका छौँ । यस विषयमा सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर अघि बढ्छौँ ।’

यता प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘मर्स्याङ्दी नदीको उक्त क्षेत्रमा चिनियाँ ठेकदारद्धार किराको कारोबार भएको कुरा आएसँगै हामीले यस विषयमा सुस्म अनुसन्धान गरिरहेका छौँ ।’

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update