TagaroNews
सीएमसीको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २६ लाभान्वित  

लमजुङ – चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरको सहयोगमा सुन्दरबजार नगरपालिका–४, सत्रसयमा सञ्चालित एक दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय २६ जना लाभान्वित भएका छन् । 

सिर्जनाचोक भेट्रान्स क्लव भरतपुर महानगरपालिका–७ चितवनको आयोजना, स्थानीय वडाको संयोजनमा सत्रसय स्थित शान्ति सिर्जना प्राविमा शनिबार निःशुल्क शिविर सञ्चालन गरिएको हो । 

शिविरमा ९१ जनाको मुटु परिक्षण गरिएको छ । यस्तै ४१ जनाले नाक, कान, घाँटी र छाला रोगबारे चेकजाँच गरेका छन् । 

४५ जना बालबालिकामा बाल रोगबारे परिक्षण गरिएको छ भने, २१ जना महिलाले स्त्री रोगबारे सेवा लिएको सीएमसीका अप्रेशन म्यानेजर पारश अधिकारीले बताए । उनका अनुसार ३२ जनाको दाँतको परिक्षण गरिएको र ३८ जनाले हाडजोर्नी तथा नसा रोगबारे विशेषज्ञ सेवा पाए । २८ जनाले अन्य सेवाहरु लिए । 

स्वास्थ्य शिविरमा  निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच सँगै निःशुल्क औषधि वितरण गरिएको सीएमसीले जनाएको छ । 

आफ्नै गाउँ ठाउँमामा बिषेशज्ञसहितको निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित हुदाँ स्थानीय हर्षित भएको आयोजक क्लवका अध्यक्ष रुपकराज अधिकारीले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update