TagaroNews
लमजुङमा साढे ६ हजार किशोरीलाई एच.पी.भी. खोप 

लमजुङ – लमजुङमा ६ हजार ५४४ जना किशोरीलाई पाठेघरको मुखमा क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एच.पी.भी.) विरुद्धको खोप लगाइँदैछ ।

सो खोप ६ देखि १० कक्षा सम्मका ६ हजार ४०६ जना छात्राहरूमा लगाइनेछ भने, विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका १३८ जना किशोरीहरुमा लगाइनेछ । 

प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङले आइतबार बेसीशहरमा एक अभिमूखिकरण बैठक गर्दै यसबारे जानकारी गराएको हो । 

लमजुङमा कक्षा ६ देखि माथिका १३४ विद्यालयलाई खोप केन्द्र कायम गरी १३४ जना खोप कार्यकर्ता र २६८ जना स्वयंसेवक खटाएर खोप दिने व्यवस्था गरिएको कार्यालय प्रमुख प्रविणकुमार खनालले बताए । 

जिल्लाको क्व्होलासोथार गाउँपालिकामा माघ २२ र २३ गते, दोर्दी गाउँपालिकामा २२ देखि २४ गतेसम्म यो अभियान चल्नेछ । अन्य ६ वटा स्थानीय तहमा भने, माघ २२ देखि २५ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । 

अभियान अन्तर्गत विद्यालयबाहिरका किशोरीलाई स्थानीय स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था गरिएको छ । अभियानका क्रममा छुटेकालाई लक्षित गरी जिल्ला अस्पतालमा माघ २७ गते खोप सेवा प्रदान गरिने छ ।

एच.पी.भी. विरुद्धको खोप सुरक्षित र भरपर्दो मानिएको लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । महिलामा यौन क्रियाकलापपछि यो खोपको प्रभावकारिता कम हुने भएकाले सो अगावै किशोरीलाई खोप दिन लागिएको जानकारी दिए । 

देशभर एच.पी.भी. खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update