TagaroNews
जनकल्याण सहकारी प्रकरणः नक्कली ऋणी बनाएर १० वर्षमा ११ करोड ‘झ्वाम’

लमजुङ - जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैँया ठगीमा संलग्न रहेको आरोपमा दुई जना यतिवेला जिल्ला प्रहरी कार्यालयमा हिरासतको चिसो छिडिमा छन् ।

दुई मध्य एक हुन् सहकारी संस्थाको ङादी शाखाका प्रमुख विरेन्द्र गुरुङ र अर्की हुन् मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीकी मधुमाया बगाले । 

नक्कली ऋणी खडा गरेर सहकारीको करोडौँ रकम झ्वाम पारेको आरोपमा प्रहरीले उनीहरु बिरुद्ध सहकारी ठगी र सम्पती शुद्धीकरणको मुद्धामा अनुसन्धान गरिरहेको छ । 

व्यवस्थापक गुरुङ गत मंसिर १६ गते र बगाले मंसिर १७ गते पक्राउ परेका हुन् ।

कसरी बनायो काल्पनिक ऋणी ?
वि.सं. २०७१ सालमा मधुमाया बगाले आफैले जनकल्याण बचत तथा ऋण सहकारीको ङादी शाखाबाट कर्जा लिइएकी थिइन् । त्यसपछि उनको ठगी धन्दा शुरु हुन्छ ।

उनले आफ्नो आफन्तको नाममा कर्जा लिइन । त्यसपछि शाखा प्रमुख विरेन्द्र गुरुङसँगको मिलेमतोमा एकपछि अर्काे गर्दे काल्पनिक ऋणी खडा गर्दै रकम ठग्दै गइन् । 

बगाले र शाखा प्रमुखको मिलेमतोमा उनले लगातर नक्कली ऋणी खडा गर्दै गइन् । यो पक्रिया १० बर्ष सम्म चल्यो । उनको ठगी धन्दा १० वर्षपछि भने, टिक्न सकेन् । 

एउटा सहकारीको शाखाबाट अप्रत्यासीत कर्जा प्रवाह भएपछि सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले अनुसन्धान थाल्यो । 

सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेख्यो । सोहि पत्रको जाहेरीको आधारमा प्रहरीले बगाले र गुरुङलाई पक्राउ गरेर सुस्म रुपमा अनुसन्धान गरिरहेको छ । 

को हुन् बगाले र गुरुङ ?
मर्स्याङ्दी गाउँपालिका–९, की ५८ बर्षीया मधुमाया बगाले सोहि गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । उनी नेकपा एमाले मर्स्याङ्दी गाउँपालिका–९ वडा कमिटि अध्यक्ष समेत थिइन् ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि नेकपा एमालेले वडा कमिटीको अध्यक्ष पदबाट निलम्बन गरिसकेको छ । यता गाउँपालिकाले भने, कार्यापालिका सदस्यवाट निलम्बन गरेको छैन् । 

विरेन्द्र गुरुङ सोहि पालिकाको वडा नं. ३ ढगैका बासिन्दा हुन् । उनी लामो समयदेखी जनकल्याण बचत तथा ऋण सहकारीको ङादी शाखामा सेवा केन्द्र प्रमुखको जिम्मेवारीमा थिए । 

मुख्य कार्यालयले किन गरेन् निगरानी ?
सदरमुकाम बेसीशहरमा जनकल्याण बचत तथा ऋण सहकारीको मुख्य कार्यालय रहेको छ । सहकारीको शाखा कार्यालयलाई २ लाख रुपैँया र सेवा केन्द्र प्रमुखलाई १ लाख रुपैँया सम्म कारोबार गर्ने अधिकार तोकिएको छ । 

यसबारे सहकारी संस्थाका प्रबन्धक झमप्रसाद गुरुङ भन्छन् ‘संस्थाको कारोबारको अनुगमन एउटा विभागिय प्रमुखले गर्छ र लेखा समितिले पनि गर्छ, आन्तरिक लेखा परीक्षणका लागी चार्टड एकाउन्टेन्ट नै हुन्थ्यो । धेरै संरचना प्रयोग हुन्थ्यो, तर, मुख्य कार्यालयलाई नै झुक्काउने काम भयो । कहाँ कसरी झुक्कायो झुक्कायो । तमसुक र माग फारम सबै थियो । तर, झुक्कायो ।’

उनले थपे, ‘सेवा केन्द्र प्रमुखले आफ्नो लगानी क्षेत्र अधिकारबाट नै लगानी गरेर कागपत्र मिलाउँदै गएछ । २ लाख भन्दा माथिको रकम भए, मुख्य कार्यालयमा फाइल आउँथ्यो । तर, पहिलेदेखी नै क्षेत्रअधिकार दुरुपयोग गरेर ठूलो परिणाममा रकम गैसकेको रैछ ।’ 

सेवा केन्द्रबाट यति धेरै ऋणी खडा गरी ऋण प्रवाह हुँदा समेत मुख्य कार्यालय बेखवर बन्नुले कतै मिलेमतोमै काम भइरहेको त छैन ? यो त अनुसन्धानले नै बताउला । 

मुद्धा मिलाउन एमाले नेताको दबाब 
सहकारीको अप्रत्यासीत कर्जा प्रवाहबारे सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले अनुसन्धान थालेसँगै आफनो कार्यकर्ता पक्राउ पर्ने भएपछि एमाले पार्टीभित्र खैलावैला चल्यो ।  

सहकारीको करोडौं रकम हिनामिनामा मुख्य भूमिकामा देखिएकी नेकपा एमाले मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ कमिटिका अध्यक्ष समेत रहेकी मधुमाया बगालेलाई पक्राउ गरी मुद्धा नचलाउन प्रहरीलाई एमाले नेताहरुले दवाव दिन थाले । 

सहकारीमा हिनामिना भएको रकम आपसी समझदारीमा मिलाउने तर, सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको अनुसन्धान प्रतिवेदनका आधारमा बगाले बिरुद्ध मुद्धा दर्ता अगाडी नबढाउन निकै जोडवल भएको कार्यालयका एक कर्मचारीले बताए । 

एमाले नेताहरुको दवावका बावजुत पनि जिल्ला प्रहरी कार्यालयले बगालेलाई पक्राउ गरी सुस्म अनुसन्धान गरिरहेको छ । तरपनि, नेताहरु मुद्धा सल्टाउन शक्ति केन्द्र धाउन भने छोडेका छैनन् । 

एमालेले देखाउनका लागी तत्काल पार्टीबाट कारबाही गरेपनि, भित्रभित्र भने, मुद्धा सल्टाउन नै नेताहरु लागीपरेका छन् । 

कहाँ पुग्यो प्रहरी अनुसन्धान ? 
पक्राउ परेका दुवैजनालाई प्रहरीले सहकारी ठगी र सम्पती शुद्धीकरणको मुद्धामा अनुसन्धान गरिरहेको छ ।

सम्पति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिमको कसुरमा दुवैजनालाई ८ औँ पटक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक राज किशोर साहले बताए । 

बगाले सहकारीको सञ्चालक पनि नरहेको र बचतकर्ता पनि नरहेकोमा अरुलाई प्रयोग गरेर सहकारीको रकम हिनामीना गरेको देखिएकाले गहिरो रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । ‘हाम्रो तर्फबाट अनुसन्धान भईरहेको छ’ प्रनाउ श्रीवास्तवले भने, ‘अहिलेनै निर्दोष भन्न सक्ने अवस्था छैन ।’

उनीहरुले सरकारी संस्थाको हिमालयन बैँक लिमिटेडको खातामा रहेको रकम निकासा गर्न कृर्ते दरखास्त गरी रकम हिनामिना गरेको आरोप छ ।

सहकारी रजिष्ट्रारको कार्यालयले प्रतिवेदनसहित कागजात प्रहरीलाई पठाएर अनुसन्धानका लागि अनुरोध गरेको थियो । अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

सहकारी सेवा केन्द्रको नाममा रकम हिनामिना भएको उजुरीपछि रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा सेवाकेन्द्रको अनुसन्धान गरी प्रतिवेदन तयार गरिएको थियो ।

वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको हो । 

यो पनि..

सहकारी ठगी प्रकरणः मधुमाया बिरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सहकारी ठगी: मर्स्याङ्दी गाउँपालिका कार्यपालिका सदस्य मधुमाया पक्राउ

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update