
लमजुङ ₋ जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलपम्पमा अनुगमन गरेको छ ।
बेसीशहर नगरपालिका–३, रानीकुवास्थित जय भद्रकाली पेट्रोलपम्पमा प्रशासनको रोहवरमा आयल निगमका प्राविधिकहरुले अनुगमन गरेका हुन् ।
अनुगमनमा पेट्रोलपम्पमा परिणाम र गुणस्तरमा भने ठिकठाक भेटिए ।
प्रशासनले बुधबार गरेको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमूख जिल्ला अधिकारी थमनसिंह गौतमले बताए ।
सर्वसाधरणको उजुरीको आधारमा पेट्रोलपम्पमा अनुगमन गरीएको प्रशासनले जनाएको छ ।
तेलमा मिसावट भएको भन्दै केहि समय अघि जिल्ला प्रशासन कार्यालयमा गुनासो सहित उजुरी परेको थियो । उजुरी पश्चात प्रशासनले सो पेट्रोल पम्पको परिक्षणका लागि प्राविधिक पठाउन आयल निगमलाई अनुरोध गरेको थियो ।
विगत लामो समयदेखी सञ्चालित यस पेट्रोलपम्पमा कानुन विपरित उपभोक्तालाई हानी हुने कुनै गतिविधी नगरेको सञ्चालक श्रीकान्त घिमीरेले बताए । उनले भने, ‘अहिलेसम्म कुनै प्रकारका मिसावटका गतिविधि भएको छैन, कुनै व्यक्ती विशेषले पुर्वाग्रहि भएर उजुरी गरेको हुनेसक्छ ।’
कोहि कसैले व्यवसायिक रुपमा अफवाह फैलाउन अराजक गतिविधी गरेपनि प्रशासन र सम्वन्धित निकायबाट भएको अनुगमनले राम्रो सन्देश दिएको सञ्चालक घिमीरे बताउँछन् ।
सम्वन्धीत निकायले कोहि कसैको उजुरी विनापनि समय सापेक्ष अनुगमन गर्नुपर्ने र त्यसले उपभोक्ता र व्यवसायीविच विश्वासनिय बातावरण बन्ने सञ्चालक घिमीरेको भनाई छ ।