
मनाङ – हिमाल पारीको जिल्ला मनाङमा पुसको अन्तिममा बल्ल सामान्य हिमपात भएको छ ।
चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । सामान्यतया मंसिर महिनादेखी हिमपात हुने मनाङ क्षेत्रमा यसपटक पुसको अन्तिम आइपुग्दा यो बर्षकै पहिलो हिमपात भएको हो ।
सशस्त्र प्रहरी बल, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका अनुसार आइतबार माथिल्लो मनाङ, पिसाङ, हुम्दे र चामे आसपासको क्षेत्रमा सामान्य हिउँ परेको हो ।
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा यहाँका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङ लगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन् ।
जिल्लाको माथिल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने सङ्केत देखिएको छैन् । हिउँ परेपछि हिमाली जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतो लगायतको उत्पादन बढ्ने स्थानीय बताउँछन् ।
सिजनमा परेको हिउँले स्याउ साथै आलु, करु, गहुँ, फापर र तरकारी बालीलाई राम्रो चिस्यान पुग्छ । तर, माघ लाग्न लागिसक्दामसेत हिउँ नपर्दा किसान चिन्तित छन् ।