
लमजुङ - यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा बुद्ध युवा क्लब भोटबडार र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सहजी खेल मैदान (त्रिवेणी रंगशाला)मा मंगलबार भएको पहिलो खेलमा बुद्ध युवा क्लबले मर्स्याङ्दी युथ क्लब बेसीशहरलाई १–० को झिनो अन्तरले हराएको हो ।
खेलको ३४औं मिनटमा शिव सुवेदीले गरेको एक मात्र गोल बुद्ध युवा क्लबलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
दोस्रो खेलमा अभिषेक चर्चले संकटा फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
अभिषेक चर्चका लागि दुवै गोल मिङ्सो लिम्बुले गरे भने, संकटाका लागि दुवै गोल कप्तान कुलदिप कार्कीले गरे । उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।
टाईब्रेकरमा भने, अभिषेक चर्चले संकटामाथि ५–३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल बनेको हो ।
बुधबारबाट क्वाटरफाइनलको खेल सुरु हुदैछ ।पहिलो क्वाटरफाइनल खेलमा एपिएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन् । दोस्रो क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी) र टोखा भगवती क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।
त्रिवेणी युवा क्लब बेसीशहरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।