
लमजुङ - लमजुङमा जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट जितका साथ विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको एक मात्र खेलमा एपिएफले सामना युथ क्लब तुरतुरे तनहुँलाई शून्यका विरुद्ध ५ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
सहजी खेलमैदान (त्रिवेणी रंगशाला)मा भएको खेलमा एपिएफका लागि प्रदिप लामाले ह्याट्रिक गरे ।प्रदिपले खेलको १२, ३० र ५५औं मिनटमा शुरुवाती तीन गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
त्यस्तै ६०औं मिनटमा सुजन कुमार पुलामीले चौथो गोल गरे भने ७६औं मिनटमा सुमन श्रेष्ठले पाँचौं गोल गर्दै एपिएफको जित पक्का गरे ।
एपिएफले अब क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा बुद्ध युवा क्लब भोटेबडार र मर्स्याङ्दी युथ क्लब बेसीशहरबीच हुनेछ । यस्तै दोस्रो खेलमा अभिषेक चर्च रजहर र संकटा फुटबल क्लब काठमाडौं बीच प्रतिस्पर्धा हुनेछ ।
त्रिवेणी युवा क्लब बेसीशहरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने, उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।