TagaroNews
नेपालसँग ओमान पाँच विकेटले पराजित 

काठमाडौं– एक दिवसीय अभ्यास खेलमा नेपाल विजयी भएको छ। त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा ओमानलाई नेपालले पाँच विकेटले हराउँदै जित निकालेको हो। 

ओमानले दिएको २४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो। नेपालका लागि अर्जुन साउदले ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले रिटायर्ट हर्ट हुँदै ५८ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले १५, देव खनालले २, कुशल मल्लले ८, सन्दीप जोराले ११ र भीम सार्कीले १ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाए। नेपालका किशोर महतोले ३ तथा प्रतिश जिसी र सूर्य तामाङले २र२ विकेट लिए। श्याम ढकाल र कुशल मल्लले १र१ विकेट लिए।  एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो।

एसीसी प्रिमियर कप मंगलबार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मुलपानी मैदानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ। यस्तै मुलपानीमा साउदी अरबसँग नेपालले वैशाख ११ गते खेल्नेछ। त्यस्तै वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update