TagaroNews
त्रिवेणी कपमा देशभरका १६ टिम भिड्दै
फाइल तस्बिर ।

लमजुङ – गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप फुटबल प्रतियोगितामा यसबर्ष १६ टिम भिड्दै छन् ।

पुस १२ गते शुक्रबारबाट बेसीशहरको सहजी खेल मैदानमा चल्ने ३२ औँ संस्करणको राष्ट्रव्यापी फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले बताएको छ । 

प्रतियोगितामा यसबर्ष ए डिभिजनका थप चर्चित टीमले सहभागिता जनाउँदै छन् । सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग २०७६ र २०७८ को विजेता बनिसकेको मच्छिन्द्र क्लव, २०५२ को बिजेता एनआरटी र २०४२ को विजेता संकटासंगै विभागीय टिमहरु त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव यस बर्ष त्रिवेणी कपमा प्रतिस्पर्धा गर्दैछन् ।

अघिल्लो बर्ष क्वार्टर फाइनलमै पराजित भएको नेपाल प्रहरीको विभागीय टिम नेपाल प्रहरीले भने, यस पटक सहभागिता जनाएन् ।

यस बर्ष अभिषेक चर्च एफसी, टोखा भगवती एफसी, सामना एफसी, चामे युवा क्लव एफसी पनि प्रतिस्पर्धामा छन् । प्रतियोगितामा लमजुङ जिल्ला भित्रबाट भने, आयोजक क्लवसहित ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

लमजुङबाट आयोजक त्रिवेणीसँगै, मर्स्याङ्दी युवा क्लव (बेसीशहर), सुन्दरबजार एफसी सुन्दरबजार, बुद्ध युवा क्लव (बीवाइसी) भोटेओडार, ठडराई अधिकारी समाज (दिहीथोक), लाङदी देवी युवा क्लव नाल्मा र लालीगुराँस युवा क्लव भुजुङ प्रतियोगितामा सहभागी हुँदैछन् ।

खेलको स्तर बढाउन यस पटक धेरै टिमलाई खेलमा समावेश नगरिएको त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । उनका अनुसार यसबर्ष पुरस्कार राशीमा समेत बृद्धि गरी राष्ट्रिय ख्यातिप्राप्त क्लवहरुलाई समावेश गराइएको छ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछ । उपबिजेताले नगद ६ लाख ट्रफि, रजत पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टिमले नगद २/२ लाख रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यसवर्ष दर्शकको सहजताका लागि थप प्याराफिटहरू निर्माण गरिएका छन् । खेल सम्पन्न गर्नका लागी ८४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update