TagaroNews
राइनास गौलीटार क्षेत्रिय मैदानमा माघ १ देखी फुटबल धमाका 
खेलबारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलन कार्यक्रम ।

लमजुङ – लमजुङको राइनासमा आगामी माघ १ गतेदेखी चौथो राइनास कप २०८१ फुटबल धमाका हुने भएको छ । 

राइनास नगरपालिका–६, धमिलिकुवास्थित गौलीटार क्षेत्रिय खेलमैदान समितिले चौथो राइनास कप खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समितिले आइतबार गौलिटार खेलमैदान परिसरमा पत्रकार सम्मेलन कार्यक्रम गरी प्रतियोगिताबारे जानकारी गराएको छ । 

यसवर्ष प्रतियोगितालाई १२ टिममा सिमित गरिने योजना रहको समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बताए । उनका अनुसार प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल आयोजक समिति र ९ वटा उपसमिति गठन गर्ने तयारी छ ।  

प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख, कप, मेडल र प्रमाणपत्र रहेको छ । उपविजेता टिमले नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

सेमिफाइनलका २ टिमलाई ४०/४० हजार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद १ हजार सहित मायाको चिनो प्रदान गरिनेछ ।

राइनास कपको मुख्य प्रायोजक रहेको राइनास नगरपालिकाले प्रतियोगिताका लागि ८ लाख बजेट विनियोजन गरेको छ । ‘राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि यहि पुस २९ गते सम्म टिम दर्ता मिति तोकिएको छ  । दर्ता शुल्क १० हजार प्लस दुई हजार लाग्ने समितिका सचिव प्रदिपजंग गुरुङले बताए ।

नगरपालिकाको प्रयोजनमा प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएपनि खेलमैदानलाई व्यवस्थित बनाउने सम्वन्धमा यसवर्ष कुनै पनि निकायको ध्यान नजानु र्दुभाग्यपूर्ण भएको राइनास ६ का वडाअध्यक्ष गोविन्द चिलुवालले बताए ।

यस गौलिटार क्षेत्रिय खेलमैदानलाई पालिकाको मात्र नभई जिल्ला र प्रदेशकै स्तरीय मैदान वनाउने सम्वन्धमा स्थानिय सरकार र प्रदेश सरकारको ध्यानार्कषण हुनुपर्नेमा निर्वतमान अध्यक्ष किरण श्रेष्ठले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update