TagaroNews
क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन

लमजुङ - लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनको औपचारिक उद्घाटन गरिएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार नवनिर्मित प्रशासकीय भवनको भव्य समारोहका बिच उदघाट्न गरे ।

गाउँपालिकाको वडा नं. २ मालिङमा निर्माण भएको तीनतले आरसिसी भवनबाट गत भदौदेखी नै सेवा प्रवाह सुरु गरिएको थियो । भवन निर्माण कार्य केहि महिना अघि नै सम्पन्न भएपनि बिहिबार भने, औपचारिक रुपमा उद्घाटन गरिएको हो । 

४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । 

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोडभन्दा बढी खर्च गरेको छ । भवन २ रोपनी ४ आना २ पैसा जग्गामा रविना–अविशा–विकन जेभीले निर्माण गरेको हो । 

भवन निर्माणका लागि ०७७ असोज ३० गते सम्झौता गरी ०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले दुईपटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले बताइन् । 

भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने, सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान गरेका थिए । 

भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सिसिक्यामेरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री ब्याकअपसमेत राखिएको गाउँपालिकाले जनाएको छ । कार्यालयमा पार्किङस्थल पनि बनाइएको छ ।

पहिले आफ्नै भवन नहुँदा जनप्रतिनिधि, कार्यालय र शाखाहरू छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएकोमा अहिले एकै ठाउँमा काम हुँदा सेवाग्राहीलाई सहज भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update