TagaroNews
मुलुकको राष्ट्रिय संकट अन्त्य गर्न ठूला दलबीच समीकरणः मन्त्री गुरुङ

लमजुङ – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधानका निम्ति देशका दुई ठुला पार्टीको गठबन्धन भएको बताएका छन् ।

गृहजिल्ला लमजुङको क्व्होलासोथार गाउँपालिको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  

मुलुकमा अस्थिर सरकार र अस्थिर राजनितिले देश खोक्रो भईसकेको भन्दै जनतालाई केन्द्रमा राखेर त्यो संकटबाट पार गर्न छुट्टाछुट्टै नीति र पृष्ठभुमी भएका कांग्रेस र एमाले मिलेर सरकार बनाएको मन्त्री गुरुङको भनाई छ । 

देशमा सुशासन नहुँदा बिकास नभएको भन्दै मन्त्री गुरुङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको दावि गरे । मन्त्री गुरुङले सरकारले अहिले समस्या पहिचान गर्दै दिगो विकासका गतिविधी सञ्चालन गर्ने उल्लेख समेत गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गाउँपालिकाको कामलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले यसका लागी सवैको सहकार्य रहने उल्लेख गरे । 

जनप्रतिनिधिले राजनितिक स्वार्थ भन्दापनि नागरिकले कसरी छिटो र सहज तरिकाले सेवा पाउँछन् भन्ने विषयमा ध्यानदिनुपर्नेमा मन्त्री पौडेलको जोड दिए ।

कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रदेश सभा सदस्य पार्वती तामाङ, यशोधा रिमाल, क्वहोलासोथार गाउँपालिका निवर्तमान अध्यक्ष प्रेम घले लगायतले सम्बोधन गरे ।

स्थानिय तह गठन भएको सात वर्षपछि क्होलासोथार गाउँपालिकाको प्रशासकिय भवन निर्माण भएको हो । भवन नहुदा सेवा प्रवाहमा समस्या भोग्दै आएको गाउँपालिकाले अव आफ्नै भवनबाट एकिकृत सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरुङले बताए । 


 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update