
लमजुङ – गुरूङ समुदायको बाहुल्यता रहेको लमजुङमा यस समुदायको कथामा आधारित चलचित्र ‘मुख्या’ निर्माण हुँदैछ ।
प्रीतम गुरूङको निर्माण, निर्देशन तथा लेखन रहेको यस चलचित्रको छायांकन सकिसकेको छ ।
उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ स्थित भिरपुस्तुन, बाहुनडाँडा र दिङदिङ गाउँमा यस चलचित्रको छायांकन गरिएको छ ।
२०५२ सालमा बनेको पहिलो गुरूङ चलचित्र पाते (माहिली) का लेखक तथा अभिनेता प्रीतम गुरूङले ५० औँ चलचित्रको रुपमा ‘मुख्या’ निर्माण गर्दैछन् ।
बिशेष गरी गुरूङ समुदायको एक पात्रमा पुस्तौँदेखी मुख्यापन चल्छ । निर्देशक गुरुङले भने, ‘ति पात्रमा मेरो छोरा छ, पैसा छ भन्ने ठूलो घमण्ड हुन्छ । तर, जव उस्लाई समस्या पर्छ त्यो बेला न पैसाले काम गर्छ न कसैको सहयोग नै मिल्छ । । मानौँ सहयोग गर्नेहरु नै हुँदैनन् ।’
उनले थपे, ‘पैसा भन्ने चिज क्षणीक हो, तर, साथ सहयोग भन्ने कुरा जीवन्त हो भन्ने कुरा अनुभुति दिलाउने कथा हो मुख्या ।’
गुरुङ संस्कृतिभित्रको विकृति कोट्याउने पारिवारिक कथामा चलचित्र निर्माण गरिएको निर्देशक गुरुङ बताउँछन् ।
चलचित्रमा नायकको रुपमा विष्णु गुरुङ र टिकाराम घलेको भुमिका रहेको छ ।
मर्स्याङ्दी गाउँपालिका–६, दिङदिङ निवासी विष्णु गुरुङ ५ बर्षपछि पुनः मुख्या चलचित्रमा अनुबन्धित भएका हुन् । उनी अभिनित पछिल्लो चलचित्र मनकाशी रहेको थियो । मनकाशी जस्तै मुख्या चलचित्रले पनि धेरै दर्शकको मन जित्नेमा नायक गुरुङ ढुक्क छन् ।
चलचित्रमा नायिकाको रुपमा सविना गुरुङ र रिया गुरुङले भुमिका निभाएका छन् । फिल्ममा रेशम गुरूङ, सुमन गुरूङ, दिनेश गुरूङ लगायत कलाकारले अभिनय गरेका छन् ।
‘मुख्या’ को लेखन तथा निर्देशन प्रीतम गुरूङको छ । फिल्म निर्माण रोधी डिजिटलले गरेको छ । हाल फिल्मको डबिंङको काम अन्तिम चरणमा रहेको निर्माण टिमले जनाएको छ ।
गत कार्तिक १ गतेदेखी छायांकन सुरु गरिएको यस चलचित्र कार्तिक १५ छायांकन सकिएको छ । चलचित्र आगामी माघ महिनाको अन्तिम साता प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।