
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि शपथ लिने तय भएको छ । साउदले शपथ लिए पनि कांग्रेसले आफूले पाएको कोटाअनुसार सबैको नाम पठाउन बाँकी रहनेछ । ८ मन्त्री भाग पाएको कांग्रेसबाट साउद मन्त्री बन्दा पाँच मात्र हुनेछन् ।
अझै तीन मन्त्री पठाउन बाँकी हुनेछ । बाँकी तीन मन्त्रीमा कांग्रेसको शेखर समूहले दाबी गरिरहेको छ । शेखर समूहले नाम नपठाउँदा ढिलाइ भएको संस्थापन पक्षले बताउने गरेको छ । तर तीन मन्त्री नपाए सरकारमा नजाने शेखर समूहको अडान छ ।
८ मन्त्री पाएको कांग्रेसले १७ चैतमा मन्त्रिपरिषाद् विस्तार हुँदा ४ मन्त्री पठाएको थियो । सत्ता गठबन्धनमा १ मन्त्रालय थप गरेर ९ मन्त्रालयको दाबी गरेको कांग्रेसले कानुन न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालयमा मन्त्री पठाउने तयारी गरेको छ । खानेपानी नभएको अवस्थामा वन मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ ।
गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद् अपूरो छ ।