TagaroNews
सहकारी ठगी: मर्स्याङ्दी गाउँपालिका कार्यपालिका सदस्य मधुमाया पक्राउ

लमजुङ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन् ।

जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन् ।

सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए । बगालेलाई बेसीशहरको घरबाट पक्राउ गरिएको हो ।

जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी सेवा केन्द्रको नाममा रकम हिनामिना भएको उजुरीपछि रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा सेवाकेन्द्रको अनुसन्धान गरी प्रतिवेदन तयार गरिएको थियो ।

उनी सहकारीको सञ्चालक पनि नरहेको र बचतकर्ता पनि नरहेकोमा अरुलाई प्रयोग गरेर सहकारीको रकम हिनामीना गरेको देखिएको डीएसपी श्रीवास्तवले बताए ।

बगालेसहित २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले बताए ।

सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरेको हो । सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारीलगायतको संलग्नता देखिएको छ ।

वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ । 

जनकल्याण बचत तथा ऋण सहकारी बेसीशहरले आवश्यक कारबाहीको लागि पत्र काटेको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालयले प्रतिवेदनसहित कागजात प्रहरीलाई पठाएर अनुसन्धानका लागि अनुरोध गरेको थियो ।

बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने, वीरेन्द्रलाई ७ दिनको म्याद थप भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update