TagaroNews
विमलाको निधनपछि गण्डकीमा सांसद बन्दै सुनिता

पोखरा - गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । 

विमला गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।

निर्वाचनमा कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूची अनुसार आदिवासी/जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन् ।

थापालाई मनोनयनका लागि कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गर्ने कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए ।

गण्डकी प्रदेश सभा सदस्य गौचनको कात्तिक २८ गते निधन भएको थियो । उनको अन्त्यष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।

कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । 

२०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update