
लमजुङ – लमजुङमा उत्पादित विद्युतबाट नै अब जिल्लामा विद्युत वितरण हुने भएको छ । हालसम्म तनहुँको दमौलीबाट वितरण हुँदै आएको ३३ केभि लाइनलाई बेसीशहर नगरपालिका–१, उदिपुरमा निर्माण सम्पन्न २२०/१३२/३३ केभी सवस्टेशनबाट वितरण गरिने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले एक सूचना मार्फत आइतबार अपराहन्न ४ बजेदेखी निर्माण सम्पन्न सवस्टेशनबाट विद्युत वितरण सुचारु गरिने जनाएको छ ।
जिल्लामा पर्याप्त विद्युत् उत्पादन हुँदै आए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन मार्फत आएको बिजुली मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट वितरण हुँदै आएको थियो ।
राष्ट्रिय प्रसारण मार्फत वितरण हुँदै आएको विद्युतमा अन्य जिल्लामा समस्या हुँदा पनि जिल्लामा बत्ती अवरोध हुने गरेको थियो । तर, अव जिल्लामा उत्पादित विद्युत् जिल्ला भित्रैबाट वितरण हुने भएपछि अन्य जिल्लाको समस्याले जिल्लामा बिद्युत् अवरोध नहुने वितरण केन्द्रले जनाएको छ ।
मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत उदिपुरमा सवस्टेशन निर्माण भएको हो । यस सवस्टेशनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत बिजुली आपूर्ति गरिने छ ।
सवस्टेशनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका उपकरणहरूको सफलतापूर्वक परीक्षण समेत सकिएको छ । दुई सय २० प्रसारण लाइन निर्माण सम्पन्न नहुँदै हाल एक सय ३२ केभी सबस्टेशनलाई भने, सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनर बिचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली सोही सबस्टेशनमा जोडिएको छ ।
लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित बिजुली प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनलाई पनि सोही सबस्टेशनमा जोड्ने तयारी भएको छ ।
सबस्टेशन निर्माण सम्पन्न भएकाले अब दोर्दी कोरिडोर प्रसारण लाइनलाई सोही सबस्टेशनभित्र छिराएर मध्यमर्स्याङ्दीको स्विचयार्डतर्फ बिजुली प्रवाह हुने भएको छ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी एक सय ३२ केभी प्रसारण लाइन हुँदै बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना सुरु भएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।