
लमजुङ – लमजुङको दुधपोखरी गाउँपालिकामा मानसिक समस्यामा रहेका र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी चार दिनसम्म मनोसामाजिक स्वास्थ्य तथा अपाङ्गता पहिचान शिविर चलाइएको छ ।
गाउँपालिकाको ६ वटा वडामा सञ्चालित शिविरमा मानसिक समस्यामा रहेका र अपाङ्गता भएका ४ सय ११ जना जनाले स्थानीय स्तरमै सेवा लिए ।
नेपाल रेडक्रस सोसाईटी लमजुङ जिल्ला शाखा अन्तर्गत आइ.सी.इ.कार्यक्रम मार्फत कार्तिक ८ देखी ११ गतेसम्म पालिकाभर सो शिविर सञ्चालनमा ल्याइएको हो ।
शिविरमा सहभागी शारिरीक अपाङ्गता भएका स्थानीय ।
दुधपोखरी गाउँपालिकाको समन्वय रहेको सो शिविरमा वरिष्ठ मनोचिकित्सक डा. रविराज तिमसेनाले मानसिक रोग सम्बन्धी सेवा तथा परामर्श दिएका थिए । ४ दिनसम्म सञ्चालित यस शिविरमा सेवा लिनेहरुमा कडा मात्रामा मानसिक समस्या भएका र छारे सम्बन्धी रोग भएका बिरामीहरु बढी भेटिएको डा.तिमसेनाले बताए ।
उनले भने, ‘यस क्षेत्र भौगोलिक हिसावले दुर्गम छ । अन्यत्र गएर उपचार सेवा लिने निकै न्युन बिरामी देखियो । धेरै जसो समस्या भएका व्यक्ति त, यस शिविर चलेकाले मात्र सेवा लिन आएको पाएँ ।’
यस क्षेत्रका नागरिकलाई मानसिक समस्या देखिएको तर, केहिलाई बाहेक अन्यलाई औषधी सेवन गर्दा झन समस्या हुने डरले औषधी नै सेवन नगरेको भेटिएको उनले बताए ।
डा. तिमसेनाले भने, ‘समस्या छ तर, औषधी खाए यसको लत बस्छ । बरु बिस्तारै आफै सन्चो हुन्छ भन्ने मानसिकताका बिरामी धेरै भेटियो । त्यसैले उनीहरु झन समस्यामा परे ।’
शिविरमा पाका उमेरका भन्दा यूवा पुस्ताका धेरैले आफनो समस्या खुलेर राख्ने गरेको उनको सुनाए । उनले भने, ‘एक जना १५ बर्ष उमेरकै वालिकामा समस्या रहेछ । त्यो पनि ६ बर्ष देखी । तर, पारिवारीक अवस्था कमजोरीले गर्दा उनले उपचार सेवा पाइनन्। जुन समस्या उनले यस शिविरमा खुलेर राखिन । उनले बेलैमा उपचार सेवा पाइन भने, उनी निको हुने संभावना प्रवल छ ।’
शिविरमा भेटिएका धेरै मानसिक समस्याग्रस्त व्यक्तिहरु आर्थिक र पारिवारीक समस्याका कारण उपचार सेवाबाट बन्चित रहेको भेटिएको उनले बताए । उनका अनुसार धेरैमा समस्या देखिएपनि सामान्य उपचारबाट हुन सक्ने समाधान रहेकोमा समयमै उपचार नपाउँदा समस्या गम्भिर बनेको छ ।
उनले थपे, ‘धेरैमा समस्या पहिचान गरियो । नजिकै स्वास्थ्य संस्था धेरै छन । तर, स्वास्थ्य संस्थाले माग नभएकाले औषधी नै नराख्ने गरेका भेटियो । अव त, शिविरले समस्यामा रहेकाहरुको पहिचान गरी संख्या निकालेको छ । सजिलै पाइने औषधीका लागी स्थानीय सरकारले सजिलै समन्वय गर्नसक्छ ।’
सहभागीलाई परामर्श दिँदै वरिष्ठ मनोचिकित्सक डा. रविराज तिमसेना ।
यस शिविर मार्फत पालिकाभरमा रहेका धेरै मानसिक समस्याबाट ग्रसित नागरिकको पहिचान गर्न सहज भएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत गणेश गौलिले बताए ।
उनले भने, ‘पालिका भौगोलिक हिसाबले विकट नै छ । धेरै नागरिकहरुले सजिलै सवारी साधन पाउन मुस्किल छ । शिविरमा सहभागीलाई त, हामीले सवारी साधन मार्फत ल्याउने र लैजाने सेवा दिएका थियौँ । सो कारण धेरै सहभागीले स्थानीय स्तरमा सजिलै सेवा पाउनुभयो । अव पहिचान भएकाहरुलाई सेवा दिने वातावरण वडा र पालिकाले गर्नुपर्छ ।’
शिविरमा पालिकाका प्राथामिक स्वास्थ्य केन्द्रका डा. विजय मण्डलले अपाङ्गता भएका व्यक्तिहरुको शारिरिक परिक्षण गरेका थिए । सहभागी अपाङ्ता भएका र कार्ड प्राप्त नगरेका व्यक्तिहरुलाई अपाङ्गता परिक्षण गरी कार्डको लागी समन्वय समेत गरिएको कार्यक्रम अधिकृत गौलीले जानकारी दिए ।
शिविरमा सहभागीलाई लमजुङ अस्पतालका नेत्र सहायक समिता गुरुङ मार्फत आँखा जाँच सेवा उपलब्ध गराइएको थियो । आँखामा मोतिविन्दु लगाएतका समस्या हुनेहरुको पहिचान गरी उनीहरुलाई थप उपचारका लागी अस्पतालमा रिफर गरिएको छ ।
सहभागीको आँखा परिक्षण गर्दै नेत्र सहायक समिता गुरुङ ।
कार्तिक ८ गते बिहिबारबाट संचालित शिविरको उदघाट्न गाउँपालिका अध्यक्ष धन प्रसाद गुरुङले गरेका थिए । स्थानीय सरकारले गर्नुपर्ने कार्यलाई सजग गराउँदै पालिकासँग नै समन्वय गरी स्थानीय स्तरमै यस किसिमको सेवा उपलब्ध गराएकोमा रेडक्रसप्रति धन्यवाद व्यक्त गरे । उनले शिविरमा पहिचान भएका नागरिकहरुलाई थप सेवा उपलब्ध गराउन लागीपर्ने बताए ।
रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापति ऋषिराम घिमिरेको अध्यक्षतामा भएको उदघाट्न सत्रको सहजीकरण शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले गरेका थिए ।
पहिलो दिन दुधपोखरी १ र २ वडाका नागरिकलाई लक्षित गरी सञ्चालित शिविर, दोस्रो दिन ३ र ४, तेस्तै ५ र अन्तिम दिन ६ नं. वडा गौडामा सञ्चालनमा ल्याइएको थियो । शिविरमा सहभागीहरुलाई निशुल्क रुपमा सवारी साधन, खाजा र निशुल्क औषधीको समेत व्यवस्था गरिएको थियो ।