TagaroNews
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर नियुक्त

पोखरा -  गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

पौडेल मन्त्री बनेसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।  पौडेलको सोमबार अपराह्न ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् । 

पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । लामो समयपछी मुख्यमन्त्री पाण्डेले पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

लमजुङबाटै निर्वाचित डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री छन् । अब लमजुङबाट प्रत्यक्ष निर्वाचित दुवै सांसद मन्त्री भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update