TagaroNews
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपीमाया गुरुङको निधन

लमजुङ - लमजुङको दूधपोखरी गाउँपालिकाको निबर्तमान अध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । क्यान्सर रोगले ग्रसित रहेकी ५८ बर्षीया गुरुङको गएराती निधन भएको हो ।

क्यान्सर रोगको उपचार गर्दै आएकी गुरुङलाई सोमबार एक्कासि रोगले च्यापेपछी भरतपुर क्यान्सर अस्पताल लैजाने क्रममा राती करिब साढे २ बजे बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

गुरुङ बिगत २ बर्ष अघिदेखि क्यान्सर रोगले ग्रसित थिइन् । बिचमा रोग निको भएपनी उनलाई पुन: रोग बल्झिएको थियो । मृतक गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

दूधपोखरी गाउँपालिका-५ कोल्की घर भएकी गुरुङ लामो समयदेखि राजनितिमा सक्रिय थिइन् । गुरुङ नेपाली काङ्ग्रेसको महासमिति सदस्य एवं गण्डकी प्रदेश समिति सदस्य हुन् ।

गुरुङको निधनप्रति नेपाली कांग्रेस लमजुङले दुःख व्यक्त गरेको छ । कांग्रेसले एक सच्चा र इमान्दार लगनशिल कार्यकर्ता गुमाउदा अतुलनीय क्षती पुगेको नेपाली कांग्रेस लमजुङले जनाएको छ ।

मृतक गुरुङको गुरुङ परम्परा अनुसार दाहासंस्कार गरिने तयारी गरिएको छ । अत्यन्त सरल, सहयोगी र मृदुभाषी गुरुङ जीवनभर अविवाहित थिईन् ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update