
काठमाडौं - काठमाडौंबाट लमजुङ आउदै गरेको हायलक्स गाडी शनिबार बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।
बा१४च ३८५५ नम्बरको गाडी बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा परी तनहुँ व्यास नगरपालिका-९ काजीफाँट घर भइ हाल काठमाडौं तारकेश्वर बस्ने ५८ बर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले बताए । उनको शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
दुर्घटनामा परी काठमाडौं मनमैजुका ५२ बर्षीय रामशरण अधिकारीको अवस्था गम्भीर छ ।
गाडीमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा चालक तारकेश्वर- १ बस्ने ४६ बर्षीय विश्वनाथ अधिकारी, मनमैजु बस्ने ४६ बर्षीया हरिकला खनाल, ५१ बर्षीया गायत्री खनाल र नागार्जुनका ६३ बर्षीय चन्द्रनाथ शर्मा घाइते छन् ।
घाइते सवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको डिएसपी भारतीले जानकारी दिए ।
दुर्घटना भएको गाडी टोखा-छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ आउदै गरेको थियो । उक्त गाडी पिपुल्स हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
पिपुल्स हाइड्रोपावरद्वारा लमजुङको दोर्दी खोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना संचालित छ ।