
लमजुङ – अरिङ्गालले चिलेर लमजुङ बेसीशहरका चार जना विद्यार्थी घाइते भएका छन् ।
बेसीशहर नगरपालिका–५, बाख्रेजगतका चार जना विद्यार्थीलाई विद्यालय जाने क्रममा बिहिबार बिहान बाटोमा अरिङ्गालले चिलेर घाईते बनाएको हो ।
घाइते हुनेमा बाख्रेगजतकी १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ रहेका छन् ।
घरबाट बेसीशहर नगरपालिका–३, गाउँशहर स्थित लमजुङ मावि हिँडेका उनीहरुलाई जंगलको बाटोमा अचानक आएका अरिङ्गालले चिलेर घाईते बनाएको प्रहरीले जनाएको छ ।
अरिङ्गालले विद्यार्थीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चिलेको छ ।
घाइते सबैको उद्धार गरी उपचारका लागी लमजुङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए ।
अस्पतालका मेडिकल अधिकृत जनक ढकालका अनुसार विद्यार्थीहरुको अवस्था सामान्य रहेको र उपचार भैरहेको छ ।