TagaroNews
सदस्यता शुद्धीकरण विवादः पत्रकार महासंघको निर्वाचन अनिश्चित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते शुक्रबार निर्धारण गरिएको थियो ।

तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

सोही पत्रअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको हो ।

सूचनामा केन्द्रीय निर्वाचन समितिका संयोजक  प्रा. चिरञ्जीवी खनाल, सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल र देवेन्द्र झाको हस्ताक्षर छ ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update