TagaroNews
बेसीशहर नगरपालिका: शीर्षक कालोपत्रे, काम टालटुले
उदिपुर स्थित गैरी खत्रीचौर हुँदै घ्यासीबास जोड्ने मोटरबाटो खण्ड ।

बेसीशहर– आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति अझै छँदैछ । लमजुङको बेसीशहर नगरपालिकाको एक सडकमा पनि यसरी नै बजेट सकाएको पाइएको छ ।

शहरी विकास मन्त्रालयको संघिय समपूरक अनुदान कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०८०/०८१ को अन्त्यमा बेसीशहर नगरपालिका– १ उदिपुर स्थित गैरी खत्रीचौर हुँदै घ्यासीबास जोड्ने मोटरबाटो कालोपत्रेका लागी २० लाख बजेट छुट्याइयो । १ सय ८९ मिटर लम्बाई र ४ मिटर चौडाईको सो सडक कालोपत्रेका लागी (कन्टिन्जेन्सी ५० हजार रुपैँया) समेत गरी २० लाख रुपैँयामा स्थानीय निर्माण उपभोक्ता समिति मार्फत सम्झौता भयो । 

सडक कालोपत्रेको काम २०८१ जेठ २ गते सुरु गरेर साउन २० गते सम्पन्न गर्ने गरी सम्झौता गरिएको पत्रमा उल्लेख छ । हरिकृष्ण बुढाथोकी अध्यक्ष रहेको उपभोक्ता समितिले सो सडकको काम अघि बढायो । तर, आर्थिक बर्षको अन्त्यमा गरिएको काम के, दिगो र गुणस्तरको होला ? समितिले अलकत्रा, बालुवा र गिटीले टालटुले काम गरेर भुक्तानी रकम लिएको देखिन्छ । 

सम्झौता अनुरुप काम सम्पन्न नै नगरेको सो टालटुले सडकको आयोजना निर्माण उपभोक्ता समितिलाई बेसीशहर नगरपालिकाले भ्याट बाहेकको १२ लाख ८९ हजार २ सय ५१ रुपैँया भुक्तानी गरिसकेको छ । तर, सम्झौता पत्रमा भने, कार्य सम्पन्न भएपछि मात्र भुक्तानी गरिने उल्लेख छ ।

आयोजनाको सम्झौता पत्र र भुक्तानी विवरण ।

आफ्नै गाउँको सडक कालोपत्रे हुन्छ भन्दा गाउँबासी निकै खुसी रहेको स्थानीय चन्द्रबहादुर मिश्रले बताए । उनले भने, ‘कालोपत्रे सडक हुने भो भनेर निकै खुसी भइयो । तर, आर्थिक वर्षको अन्त्यमा पालिकाले काम गराउनु नै गलत थियो । अहिले सम्झौता अनुसार काम नै देखिएन । सडकमा गिटी, बालुवा र अलकत्रा छरेर मात्र छाडिएको छ ।’ 

बाटो साँघुरो भएकै कारण बनाएको नाली समेत अधिकांश ठाउँमा भत्किएको अर्का स्थानीय अर्जुन सुनारले बताए । उनले भने, ‘काम अधुरै छ । मुल्याङ्कन अनुसार काम भएकै देखिदैन । सडक थप स्तरोन्नतीका लागी पालिकाबाट बजेट छुट्याएको भन्ने सुनेको छु । हेरौँ कालोपत्रे गराउँछ होला ।’ 

शीर्षक कालोपत्रे भनेर आएपनि पालिकाले स्तरोन्नतीको स्टमेट गराएकाले काम सम्पन्न गर्न समस्या भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण बुढाथोकीले बताए । उनले भने, ‘कहिले टेन्डर गराउने, कहिले समितिले काम गराउने भनेर धेरै समय झुलाउने काम भयो । आर्थिक वर्षको अन्त्यमा आएर समितिलाई जिम्मा दिएपछि काम सम्पन्न गराउन सकिएन ।’

उपभोक्ता समितिलाई कामको जिम्मा दिइएको भएपनि समितिले छोटो समयमा कालोपत्रे गर्ने सामाग्री जुटाउन नसक्ने भएकाले ठेकेदारलाई कामको जिम्मा लगाइएको वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले बताए । उनले भने, ‘पानी परेको कारण समयमै काम सम्पन्न गर्न नै सकेनौँ । जति काम भएको छ त्यसको मुल्याङ्कन गरेर भुक्तानी भइसकेको छ ।’

सडकमा बाँकी रहेको काम सम्पन्न गर्न पालिकाबाट ५ लाख रुपैँया छुट्याएको भन्दै उनले सोहि बजेटबाट काम सम्पन्न गर्ने बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update