TagaroNews
‘ट्याक्टर’ ले घेरे सुन्दरबजार नगरपालिका
व्यावसायिक संघको विरोधमा पालिका अगाडि लामबद्ध रोकिएका ट्याक्टरहरु ।

सुन्दरबजार – नदीजन्य पदार्थ सम्बन्धी दर रेट र जरिवानामा नगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै स्थानीय ट्याक्टर व्यवसायीहरूले लमजुङको सुन्दरबजार नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

पालिकाद्धारा लागु गरिएको ढुङ्गा, गिट्टि, वालुवा सहितका नदीजन्य पदार्थ सम्बन्धित दर रेट र जरिवाना ऐन २०८१/०८२ को ऐन जनमुखी र उपयुक्त नभएको भन्दै व्यवसायीहरुले ट्याक्टर सहित पालिका कार्यालय घेराउ गरेका हुन् ।

ट्याक्टर तथा टिप्पर व्यवसायी संघ सुन्दरबजारले यस सम्बन्धमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल समक्ष पत्र बुझाउँदै उक्त दररेट र जरिवानालाई संसोधन गर्न माग गरेको छ । 

उक्त ऐन संसोधन नगरेसम्म सबै ट्याक्टर व्यवसायीका ट्याक्टरहरु नगरपालिका भित्र राख्न बाध्य हुने समेत सो पत्रमा उल्लेख छ । 

यस्तै पटक–पटक अनाधिकृत र विना सूचना सुरक्षा निकायले व्यवसायीहरुको स्रोत तथा साधन जफत गरेको भन्दै यस तर्फ सम्बन्धीत निकायले ध्यान दिन आग्रह गरेको छ । 

साथै निजि जग्गाका नदिजन्य सामाग्रीमा कर छुट हुनुपर्ने र ठेक्का पट्टाको समेत व्यवस्थापन गर्न आग्रह गरिएको ट्याक्टर तथा टिप्पर व्यवसायी संघ सुन्दरबजारका अध्यक्ष विहस्पती अधिकारीद्धारा हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 व्यवसायी संघले पालिकालाई बुझाएको पत्र ।

नगरपालिकाले नदीजन्य पदार्थको कर यसअघि प्रति ट्याक्टर ८ सय रुपैँया लिँदै आएकोमा यसबर्ष ९ सय रुपैँया पुर्याइएको छ । जरिवाना भने, पहिलो पटकमा २० हजार, दोस्रो पटकमा ४० हजार र तेस्रो पटकमा ६० हजार रुपैँयासम्म लिने गरेको छ । 

सुन्दरबजार नगरपालिकामा ट्याक्टर तथा टिप्पर व्यवसायी संघका ६० वटा ट्याक्टर र १० वटा टिप्पर सञ्चालनमा रहेका छन् । 

यता नगरपालिकाले भने, प्रदेश ऐन अनुसार अनुसार नै तोकिएको रकम लिँदै आएको उल्लेख गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update