TagaroNews
सिएमसी अब लमजुङ जिल्लामा जोडिदै, मध्यनेपालसँग उपचार सम्झौता

लमजुङ – उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई विशेष रुपमा लमजुङ जिल्लासँग जोड्न थालेको छ । लमजुङका दुर दराजका क्षेत्रमा पटक–पटक स्वास्थ्यका कार्यक्रम गर्दै आएको सिएमसीले पछिल्लो समय जिल्लाका स्थानीय पालिकाहरुसँग नै स्वास्थ्य सम्झौता अभियान अघि बढाएको हो ।

अस्पतालले सुरुवाती रुपमा लमजुङको मध्यनेपाल नगरपालिकासँग स्वास्थ्य सम्झौता गरेको छ । विभिन्न समस्या भएका विरामीहरुको उपचार एवं अध्ययनका लागि समेत विशेष छुटका लागि नगरपालिका र अस्पतालसँग सम्भौता भएको अस्पतालका निर्देशक डा. दयाराम दाहालले बताए । 

मध्यनेपाल नगरपालिका अन्तर्गतका सर्वसाधरणका लागि गुणस्तरीय स्वास्थ्य सेवा, औषधी खरिद एव प्राविधिक शिक्षाका लागि समेत विशेष छुट हुने दुई पक्ष विच भएको सम्झौतामा उल्लेख छ । यहि भदौ १ गते देखि लागुहुने गरी गरीएको सम्झौता २०८४ साल श्रावण मसान्तसम्म लागु हुने सिएमसीका अप्रेशन म्यानेजर पारस अधिकारीले बताए । 

सम्झौतामा उल्लेख भए अनुसार अस्पतालबाट हुने सेवा प्रवाह मध्ये उपचार सेवाहरुमा २० प्रतिशत रकम छुट हुनेछ भने, अस्पतालको फार्मेसीबाट औषधी खरिद गर्दा सात प्रतिशत रकम छुट हुनेछ । त्यस्तै सिएमसी अस्पतालको ओ.पि.डी. टिकट र इमर्जेन्सी टिकटमा पनि बिशेष छुट हुनेछ । 

नगरबालिकाबाट नगर प्रमुखको सिफारिसमा प्रथम पक्षले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट र चितवनको सि एम सि क्यान्सर इन्सीच्यूटमा संचालित सिटिईभिटिको पढाईमा पनि विद्यार्थीहरुलाई १० प्रतिशत छुट दिईने सम्झौतामा उल्लेख छ । 

सो अस्पतालमा उपचारका लागि नगरपालिकाले वेभसाईट मार्फत नगरबासीको नाम तथा विवरण प्रविष्ट गर्ने र प्रविष्ट नहुँदासम्म नगरपालिकाको सिफारिसमा विशेष छुट सेवा दिने भएको छ । मध्यनेपालका विरामीले सो अस्पतालमा उपचार गर्दा कुनै पनि बिमा र विशेष अवस्थामा छुट दावी गर्न भने, पाउने छैन । 

अस्पताल र नगरपालिकाबाट उपलब्ध गराइएको स्वास्थ्य कार्डबाट प्राप्त गर्ने सुविधा सम्झौताको मितिसम्म मात्र लागु रहने छ । अस्पतालले नगरपालिकाको सिफारिस बमोजिम बिरामीलाई उपचार गराउने व्यवस्था मिलाउने र सिफारिस बमोजिमको रकम नगरपालिकाले अस्पताललाई भुक्तानी गर्नेछ ।

त्यसैगरी सिएमसीले नगरपालिकाको अत्यन्त विकट क्षेत्रलाई केन्द्रित निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आवश्यक जनशक्ती र उपकरणहरुको व्यवस्था गर्ने पनि सम्झौता भएको छ । 

अस्पताल र पालिकाबिच भएको स्वास्थ्य सम्बन्धी सम्झौता । 

लमजुङका स्थानीयहरुलाई बिशेष रुपमा सेवा प्रदान गर्दै आइरहेको सिएमसी अस्पतालले छिट्टै जिल्लाका अन्य पालिकासँग समेत स्वास्थ्य सम्बन्धी सम्झौता गर्ने तयारीमा रहेको छ । लमजुङको सुन्दरबजार नगरपालिकासँग सम्झौताको प्रक्रियामा रहेको र बेसीशहर नगरपालिकासँग समेत सम्झौता गर्ने योजनामा रहेको सिएमसीका अप्रेशन म्यानेजर अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update