TagaroNews
रेडक्रस लमजुङको सुविधासम्पन्न भवन बन्दै, अर्थमन्त्री गुरुङले गरे शिलान्यास
भवनको शिलान्यास गर्दै गण्डकीका आर्थिक मामिला मन्त्री गुरुङ ।

लमजुङ –  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङको आफ्नै सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । नव निर्माण हुन लागेको भवनको शुक्रबार बिहान गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गरे ।

भवनको शिलान्यास गर्दै मन्त्री गुरुङले रेडक्रस विशुद्ध मानवीय सेवा र विपद प्रतिकार्यमा अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाको रुपमा अग्रस्थानमा रहेको भन्दै प्रशंसा गरे । लमजुङ जिल्लाका हरेक विपत्तिको प्रतिकार्यमा रेडक्रस लमजुङको अग्र भुमिका रहेको उल्लेख गर्दै उनले शाखाको भवन निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङले बेसीशहर नगरपालिका–८ दनाईफाँट बसपार्क स्थित ५ आना जग्गामा भवन निर्माण गर्न लागेको हो । २ करोड रुपैँयाको लागतमा निर्माण हुन लागेको ४ तले भवनका लागी रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइ.एफ.आर.सी. लगाएत संघ, प्रदेश सरकार र रेडक्रसका जेष्ठ र आजिवन सदस्यहरुको सहयोग रहने रेडक्रस लमजुङ शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा रेडक्रस लमजुङका सभापति ऋषिराम घिमिरेले रेडक्रस लमजुङको वर्तमान अवस्थाबारे जानकारी गराए । उनले लमजुङ जिल्लामा सञ्चालन भएका कार्यक्रमहरुबाट अन्य जिल्लाले समेत सिक्नुपर्ने बताए । 

शिलान्यास कार्यक्रममा रेडक्रस लमजुङका निर्वतमान सभापति दिपकराज बराल, पूर्व सभापति एवं गण्डकी प्रदेश कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, उपसभापति कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष भिम बहादुर अधिकारी, उप मन्त्री दिपकराज न्यौपाने, पूूर्व मन्त्री सुशील चन्द्र अधिकारी, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायण बहादुर सुयाल, शाखा विकास अधिकृत श्रीकान्त घिमिरे सहित कर्मचारी र रेडक्रसकर्मीहरुको सहभागीता रहेको थियो । 

रेडक्रस लमजुङ शाखाले अहिले बेसीशहर–८ हस्पिटल लाइन स्थित कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ । २०२६ सालमा तदर्थ समिति गठन गरी जिल्लामा शुरु भएको रेडक्रस अभियानले ५४ बसन्त पार गरिसकेको छ । जिल्लामा विपद व्यवस्थापन, प्राथमिक उपचार, रक्तदान सेवा, एम्वुलेन्स सेवा सहित विपन्न नागरिकहरुको विचमा समावेशी उत्थानशिल एवं शसक्तीकरण सम्वन्धी विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update