TagaroNews
सवारी मर्मत र इन्धन खर्च देखाउन सुन्दरबजार नगरपालिका किन डरायो ?

तगारो न्यूजले सूचनाको हक प्रयोग गरी सुन्दरबजार नगरपालिकासँग दुई आर्थिक बर्षमा सवारी मर्मत र इन्धनमा भएको खर्चबारे सूचना माग गरेको थियो । तर, नगरपालिकाले सूचनाको हकमा यस्तो सूचना दिन नमिल्ने भन्दै सूचना नै लुकायो । उल्टो सूचनाको हकबारे सामान्य जानकारी समेत थाहा नभएका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले दम्भ देखाएर सार्वजानिक चासोको विषयमा सूचना दिन नमिल्ने भन्दै तगारो न्युजको समूहलाई हर्कान र पढाउन समेत भ्याए ।

सूचनाको हक प्रयोग गरी पालिकासँग मागिएको सार्वजनीक चासोको सूचना उपलब्ध नगराएपछि सोमबार एक विज्ञप्ती निकाल्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले यसबारे ध्यानाकर्षण गरायो । माग गरिएको सूचना कानुन अनुसार गोप्य राख्नुपर्ने कुनै आधार नभएकोले तत्काल उपलब्ध गराउन महासंघले आग्रह समेत गर्यो । 

नेपाल पत्रकार महासंघ लमजुङ शाखाद्धारा जारी विज्ञप्ती ।

तर, पालिकाले सोमबार नै विज्ञप्तीको ढंगबाट सूचना सम्प्रेषणको नाममा पत्रकार महासंघ लमजुङ शाखालाई पत्र लेख्दै उल्टै महासंघको प्रेस विज्ञप्ती प्रति ध्यानाकर्षण जनायो । 

नगरपालिकाबाट प्रत्येक ३-३ महिनामा स्वतः प्रकाशन हुने सूचना नियमित प्रकाशन हुँदै आएको भन्दै माग गरिएको सूचनामा अझै आलटाल गरिरहेको पालिकाले लेखा परीक्षण पश्चात लेखापरीक्षण प्रतिवेदन मार्फत उपलब्ध हुने दैनिक प्रकृतिका खर्चका सम्बन्धमा तगारो न्युजले माग गरेको सूचना दिन बाध्यकारी नहुने उल्लेख गरेको छ । 

पालिकाले पत्र मार्फत सूचना दिन बाध्यकारी नहुने यथार्थ रहदा पनि पटक–पटक यसै विषयमा लागेको भन्दै सूचनाको हक को नै धज्जी उडाइदिएको छ । सूचना दिएजस्तो गर्नलाई झारा टार्ने हिसाबले सो पत्रमा गत आर्थिक बर्ष २०८०/०८१ मा पालिकाले इन्धन शिर्षकमा विनियोजित रकम मध्यबाट ३६ लाख ५० हजार र नगरपालिकामा रहेका सबै खाले सवारी मर्मतका लागी ४१ लाख ४९ हजार खर्च गरेको भनिएको छ ।

जुन रकम, कुन मापदण्डका आधारमा कसले कति खर्च गरेको हो । त्यो भने, खुलाइएको छैन् । दैनिक प्रकृतिका यस किसिमका खर्चहरु आवश्यकता अनुसार हुने गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेक कुमार पण्डितको हस्ताक्षर रहेको सो पत्रमा भनिएको छ ।

नगरपालिकाले पत्रकार महासंघलाई लेखेको पत्र । 

पालिकाले सवारी साधन तथा इन्धन सुविधा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको हुन्छ वा कार्यविधि नबनाएको खण्डमा कार्यपालिकाको निर्णयबाट सुविधा मापदण्ड तोकेको हुन्छ । तर, सुन्दरबजार नगरपालिकाले मापदण्ड र खर्चको पूर्ण यथार्थ विवरण नै लुकाउँदा पालिकामा हुने नितिगत भ्रष्टाचार त मौलाएको छैन भन्ने प्रश्न खडा भएको छ । 

हामीले यस विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएका छौ । थप फलोअप गर्नेछौं ।

यो पनि....
सुन्दरबजार नगरपालिका: निकम्मा हाकिम अटेरी कर्मचारी
अनियमितता बाहिरिने डरले सूचना लुकाउँदै सुन्दरबजार नगरपालिका

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update