TagaroNews
दोर्दी गाउँपालिका अध्यक्षको गाडी मर्मतमै ८ लाख 

लमजुङ – नीति बनाउने र थिति बसाल्ने कामका लागि चुनिएका जनप्रतिनिधिले गाडी मर्मतका नाममा मनपरी बिल बनाएर भुक्तानी लिइरहेका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले एक आर्थिक वर्षमै सवारी मर्मतको नाममा झण्डै ८ लाख  खर्च भएको विल पेश गरी भुक्तानी लिएका छन् । 

आ.व. २०७९/०८० मा मात्रै पालिका अध्यक्षले प्रयोग गर्ने ग १ झ ३८० नम्बरको बोलेरो जीपको मर्मत संभारमा ७ लाख ७९ हजार ५ सय २९ रुपैँया खर्च गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

एउटा गाडी मर्मतको लागि यति ठुलो रकम खर्च गर्नु उचित देखिदैन् । यस्तो प्रकारको खर्च नियन्त्रण गर्नुपर्ने तर्फ पालिकाले ध्यान दिनुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

पालिका लुकाउँदै महालेखा देखाउँदै
दोर्दी गाउँपालिकासँग हामीले सूचनाको हक प्रयोग गरी आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ सम्मको सवारी मर्मत र इन्धनमा कति खर्च भएको छ ? इन्धन खर्च सम्बन्धी पालिकाले बनाएको कार्यविधि तथा मापदण्ड सहितको विवरण र कर्मचारी सहित जनप्रतिनिधिको छुट्टा छुट्टै प्रमाणित प्रतिलिपि माग गरिएको थियो । 

पालिकाले सूचनामा माग गरिएको विवरण सबै उपलब्ध गराएन् । इन्धन र मर्मत खर्चको एकमुष्ठ विवरण मात्र उपलब्ध गरायो । मापदण्ड र जनप्रतिनिधिले कति खर्च गरेको छ त्यो भने पालिकाले खुलाउन चाहेन् । तर, महालेखापरीक्षको कार्यालयले भने आव ०७९/८० को पालिकाको अध्यक्षको गाडी मर्मतमा झण्डै ८ लाख खर्च भएको प्रतिवेदनमै उल्लेख गरेको छ ।  

महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखीत विवरणको अंश ।

पालिकाले सूचना लुकाउँदै २ वर्षभित्र सवारी साधन मर्मतमा मात्र २५ लाख रुपैँया खर्च गरेको विवरण उपलब्ध गराएको थियो । 
यो पनि...

दोर्दी गाउँपालिकाको खर्चः २ बर्षमा सवारी मर्मतमै २५ लाख, इन्धनमा ३५ लाख

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update