TagaroNews
डुम्रे–बेसीशहर सडकः ठूला सवारी साधन यता, बाटो कता ? 
बेसीशहर नगरपालिका–२ गैरी स्थित हिले खोला खण्ड ।

लमजुङ – यो दृश्य हो, डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत बेसीशहर नगरपालिका–२ गैरी स्थित हिले खोला खण्ड । एकातर्फ ढलान सहितको कल्भर्ट पुल निर्माण गरिएको छ भने, अर्कोतर्फ पूरानो सडक खण्डको भत्किएको जोखिमयुक्त भाग छ । जुन खण्ड मर्मत नै नगरी अलपत्र पारेर छोडिएको छ । 

कल्भर्टको दुवै छेउमा बोर्डमा लेखिएको छ । ठूला सवारी साधन दायाँ र बाँया । बोर्ड राख्ने तर, सडक जोखिम र अलपत्र हुँदा यो तस्बिरले सडक योजना कार्यालयलाई गिज्जाइरहेको छ । जहाँ ठूला सवारी ओहोर दोहोर गर्न नै मुस्किल र जोखिम छ । 

सो हिले खोलामा बनाइएको कल्भर्ट पुल अलपत्र छ । पूरा फिनिसिङ नभएको कल्भर्टबाट सिमेन्ट बोकेको मालवाहक ट्रक कटाउन खोज्दा गत असारमा ट्रक नै पल्टिएर दुर्घटना भएको थियो । सो घट्ना लगत्तै डुम्रे–बेसीशहर–चामे सडक योजनाले ठूला सवारी साधनलाई पूरानै सडक खण्डबाट चलाउन भनि बोर्ड राखेको हो । 

कल्भर्ट निर्माण नहुँदा सडकमा कजओए निर्माण भएको थियो । सो कजओए समेत सबै बगाएर खोला खण्ड अहिले अलपत्र छ ।

कजओए बगाएर अलपत्र र जोखिम हिले खोला खण्ड ।

सगरमाथा बोरिङ एण्ड कन्ट्रक्सन प्रा.ली.ले १० मिटर चौडाई र ८ मिटर लम्बाईको कल्भर्ट पुल निर्माण गरेको हो । यकातिर कल्भर्ट पुल फिनिसिङ नहुँदा र अर्कोतिर पूरानो खण्ड अलपत्र हुँदा दुवैतर्फ जोखिम बढेको छ । 

यो त उदहारण मात्र हो, सडक खण्डको बेसीशहर नगरपालिका–२ भकुण्डेको खहरे खोलामा निर्माण गरिएको कल्भर्ट पुलको अवस्था समेत उस्तै छ । कल्भर्ट पुल पूर्ण रुपमा फिनिसिङ नगरी अलपत्र छोड्दा बर्खामा झन जोखिम माथि जोखिम थपिएको यात्रु र सवारी चालकहरु बताउँछन् ।  

सोहि कम्पनीले भकुण्डेको खहरे खोलामा १० मिटर चौडाई र ८ मिटर लम्बाईको कल्भर्ट पुल निर्माण गरेको हो । भकुण्डेको खहरे खोला र गैरीको हिले खोला गरी दुइवटा कल्भर्ट पुलको लागत १ करोड २३ लाख रहेको सडक योजनाले जनाएको छ ।

भकुण्डेको खहरे खोलामा निर्माण गरिएको कल्भर्ट पुल । 

यस कम्पनीले यसअघि निर्माण गरेको सुन्दरबजार नगरपालिका–९ भोटेवडार स्थित जिमित्रे खोलाको कल्भर्ट पुल भने, फिनिसिङ भैसकेको छ । १० मिटर चौडाई र ६ मिटर लम्बाईको सो कल्भर्ट पुल ६१ लाखमा निर्माण गरिएको हो ।  

कल्भर्ट पुलको पूरा फिनिसिङ नसकिएको र ट्रक दुर्घटना भएसँगै ठूला सवारी साधनलाई पूरानै सडक प्रयोग गर्न बोर्ड राखिएको डुम्रे–बेसीशहर–चामे सडक योजनाका निमित्त कार्यालय प्रमुख किरण पोखरेलले बताए । उनले भने, ‘कल्भर्टको डिजाइन फेरेका कारण निर्माण कार्यमा ढिलाई भएको हो । अब हामी करिब २ हप्ता पछि निर्माणको काम थालिहाल्छौँ ।’ उनले थपे, ‘रकम निकासा रोक्किएको छ । सोहि कारण योजनाको अन्तिम भुक्तानी समेत भएको छैन् ।’

भोटेवडार जिमित्रे खोलाको कल्भर्ट पुल २०७९ साल फागुन १४ गते निर्माण सम्झौता गरिएको थियो भने, भकुण्डेको खहरे खोला र गैरीको हिले खोलाको कल्भर्ट पुल भने, २०७९ साल फागुन २४ गते निर्माण सम्झौता भएको थियो । गत असार मसान्तमा म्याद सकिएको निर्माण कार्यको पुनः ६ महिना म्याद थप गरिएको सडक योजनाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update